ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानलाई जहिले पनि मल अभाव

Nov 7, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरका किसान खेतीपाती लगाउने बेला वर्षेनि मल अभावको चपेटामा पर्ने गरेका छन् । यस वर्ष पनि किसानले बारीमा गहुँ छर्ने तरखर गरिरहँदा जिल्लामा मल अभाव भएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटाका किसान डम्बर जोरा धान काटेर गहुँ छर्ने तयारीमा छन् । मंगलवार  मलका लागि कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखा पुगे । कृषि सहकारी संस्थामा समेत आबद्ध रहेका किसान जोरा मल नपाइएपछि रित्तै फर्के । ‘बारीमा गहुँ छर्ने बेला भयो, डीएपी मलका लिन केन्द्र आएको थिएँ, तर मल पाइएन,’ उनले भने । समयमा खेतमा मल नहाले उत्पादन निकै घट्ने उनको तर्क छ ।
 
त्यस्तै, केन्द्रमा भेटिएका अर्का किसान धीरेन्द्रबहादुर विष्टले पनि उस्तै गुनासो गरे । विष्टले भने, ‘सरकारले दिने अनुदानको मल समयमा आउँदैन, भारतबाट चोरी निकासी भएर आएको न्यून गुणस्तरको मल महँगोमा किनेर बारीमा छर्किनु पर्ने बाध्यता छ ।’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले जिल्लामा मागअनुसारको मल आपूर्ति नभइरहेको बताए । त्यसमा पनि समयमै आपूर्ति नहुँदा किसान झनै समस्यामा पर्ने गरेको उनको भनाइ छ । 

कञ्चनपुरमा ५६ हजार २०६ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ, जसमा युरिया २२ हजार मेट्रिक टन, डीएपी १३ हजार मेट्रिक टन र पोटास १० हजार मेट्रिक टन मल प्रयोग गर्न सिफारिश भएको कृर्षि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । कृषि सामग्री केन्द्र लिमिटेड महेन्द्रनगरका शाखा प्रबन्धक बलबहादुर शाहले केन्द्रबाट मल नआएको बताए । उनले युरिया आउन करीब एक हप्ता लाग्ने बताए । साथै डीएपी मल कोलकाता बन्दरगाहबाट पास नै नभएको उनको भनाइ छ । 

केन्द्रको महेन्द्रनगर शाखासँग २ दशमलव ५ टन मात्रै युरिया मौज्दात छ भने डीएपी र पोटासको मौज्दात शून्य छ । उनका अनुसार बीउबिजन र कृषि सामग्री केन्द्र मर्ज भएपछि मल आपूर्ति लगायतका कामकाजमा ढिलाइ भएको हो । मलका लागि केन्द्रीय कार्यालयलाई ताकेता गरिसकिएको केन्द्रले जानकारी दिएको छ ।  

किसान तथा सहरकारीका पदाधिकारी दैनिक रूपमा मलका लागि केन्द्र धाउने गरेका छन् । केन्द्रले कृषि सहकारी संस्थाहरूलाई प्रतिबोरा १२ दशमलव ५ रुपैयाँ छुट दिएर विक्री गर्ने गरेको छ । युरिया प्रतिबोरा रू. ८३१, डीएपी २ हजार २८१ र पोटास १ हजार ६८१ मूल्य निर्धारण गरिएको केन्द्रले जानकारी दिएको छ । केन्द्रले प्रतिबोरामा ढुवानी लागत मात्रै थप गरी किसानलाई मल विक्री गर्दै आएको शाहको भनाइ छ । 

केन्द्रले चालू आर्थिक वर्षमा २ हजार ५ सय मेट्रिक टन युरिया, २ हजार मेट्रिक टन डीएपी र ६० मेट्रिक टन मल किसानलाई वितरण गर्ने लक्ष्य राखेको छ, जसमा ३८१ मेट्रिक टन युरिया र ५१६ मेट्रिक टन डीएपी वितरण गरिसकेको केन्द्रले जानकारी दिएको छ । गत आर्थिक वर्षमा ३ हजार ३९९ मेट्रिक टन मल वितरण गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)