कात्तिक २१, धनगढी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । प्राधिकरणले साँफेबगर–मार्तडी ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।
नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरिया (कैलाली) प्रमुख सतीशकुमार कर्णले बाजुरा सदरमुकाम मार्तडीमा राष्ट्रिय ग्रीड पु¥याई आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति शुरु गर्नु ठुलो उपलब्धि भएको बताए । यसअघि प्राधिकरणले दार्चुलामा बलाँच–खलंगा ३३ केभी प्रसारणलाइनको निर्माण गरी सो जिल्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोडेको थियो । अब सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्ला नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रमुख कर्णले बताए ।
बाजुरालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न साँफेबगर–मार्तडी ३३ केभी प्रसारण लाइन निर्माणका लागि २०७३ चैत १७ गते भ्याटबाहेक सरकार र विद्युत प्राधिकरणको बीचमा ५ करोड ७३ लाख ३८ हजार ४४० रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशमा विद्युत्को माग ६५ मेगावाट रहेकोमा सोहीअनुरुप विद्युत खपत र वितरण भइरहेको कार्यालयले जानकारी दिएको छ । प्रदेशका नौ ओटै जिल्लामा गरी हाल विद्युत प्राधिकरणका १२ ओटा विद्युत वितरण केन्द्रमार्फत विद्युत सेवा प्रवाह भइरहेको प्रमुख कर्णले बताए । टनकपुर–वनवासा (भारत) बाट ३० मेगावाट विद्युत आपूर्ति भइरहेको बताउँदै प्रमुख कर्णले यस प्रदेशभित्र हाल निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने वित्तिकै उक्त आयात बन्द गरिने र निःशुल्क पाउने विद्युत मात्र आयात हुने बताए ।
मङ्सिरभित्रै डोटीको मौवा सवस्टेशन ३३ केभीलाइन राष्ट्रिय प्रसारण लाइनमा जोडेर विद्युत चार्ज गरिने प्रादेशिक कार्यालयले बताएको छ । त्यस्तै अछामको साँफेबगरमा शवस्टेशन निर्माण सम्पन्न भइसकेको छ । चार्ज गर्न बाँकी रहेको र ग्रामीण क्षेत्रमा विद्युत आपूर्ति शुरु भइसकेको बताइएको छ । यो काम मङ्सिर मसान्तसम्म सम्पन्न हुने प्राधिकरणले बताएको छ । सोही अवधिभित्र डडेल्धुराको बगरकोटमा पनि विद्युत चार्ज गर्न मात्र बाँकी रहेको प्राधिकरणको भनाइ छ ।
अछामको कमलबजारमा पनि चालू आवभित्रै विद्युत चार्ज गर्ने गरी प्रसारण लाइन निर्माणको काम भइरहेको विद्युत प्राधिकरणले बताएको छ । त्यस्तै नयाँ ठेक्का सम्झौता गरेर बैतडीको पाटन, मेलौली तथा कञ्चनपुरको पुनर्वासमा सवस्टेशन निर्माणको काम थालिने प्रमुख कर्णले बताए । त्यस्तै डडेल्धुराको जोगबुढा, सायलमा पनि नयाँ ठेक्का मार्फत काम शुरु गरिने भएको छ । कैलालीको सुगरखालमा सवस्टेशन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ भने दार्चुलाको लटिनाथमा सम्भाव्यता अध्ययन सर्वेपछि मात्र ठेक्का सम्झौता गरिनेछ ।