ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा व्यवसाय : पहिलो त्रैमासमा रू. ७ अर्ब बीमाशुल्क संकलन

Nov 8, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन १४ दशमलव ८५ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा रू. ६ अर्ब १३ करोड बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरूले चालू आवको सोही अवधिमा रू. ७ अर्ब ४ करोड बीमाशुल्क संकलन गरे । निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन वृद्धिदर भने गत आवको भन्दा कम र≈यो । आव २०७५/७६ को पहिलो ३ महीनामा बीमाशुल्क संकलन १६ दशमलव ३२ प्रतिशतले बढेको थियो । बीमाशुल्क संकलन १४ दशमलव ८५ प्रतिशतले बढ्दा बीमालेख विक्री संख्या ४७ दशमलव ८३ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा ४ लाख २२ हजार ५०३ ओटा बीमालेख जारी गरेका निर्जीवन बीमा कम्पनीहरूले यस आवको सोही अवधिमा ६ लाख २३ हजार ५९६ बीमालेख जारी गरेका छन् ।

पछिल्लो समय जसरी जीवन बीमा व्यवसायको विस्तार भएको छ, त्यसरी निर्जीवन बीमाको व्यापार बढ्न नसकेको बीमा कम्पनीका अधिकारीहरू स्वीकार्छन् । बजारमा गतवर्षदेखि तीन नयाँ निर्जीवन बीमा कम्पनी थपिँदा पनि व्यवसाय सोचेअनुरूप विस्तार नभएको उनीहरूको भनाइ छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उच्च मात्रामा पूँजीगत तथा विकास खर्च हुन नसक्दा पनि यस्तो बीमाको व्यवसाय बढ्न नसकेको बताए । उनले भने, ‘अझै पनि निर्जीवन बीमा कम्पनीहरू सबै जिल्लामा पुग्न सकेका छैनन् भने गुणस्तरीय बीमा प्रडक्ट पनि ल्याएको देखिँदैन ।यस्ता कारणले पनि निर्जीवन बीमाको व्यवसाय अपेक्षा गरेअनुसार बढ्न नसकेको हो ।’

युनाइटेड इन्स्योरेन्सका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई निर्जीवन बीमालाई मानिसहरूले अझै बुझ्न नसकेको बताउँछन् । उनले भने, ‘आम मानिस बैंकबाट कर्जा लिएर बनाएको घरको मात्र बीमा गर्न आउँछन् । यदि, उनीहरूले अन्य घर तथा सम्पत्तिको पनि बीमा गर्ने हो भने व्यवसाय बढ्न समय लाग्दैन ।’ सम्पत्ति बीमाको शुल्क पहिलेभन्दा ६० प्रतिशत सस्तो बनाउँदा पनि सम्पत्ति बीमाअन्तर्गतको बीमाशुल्क संकलन घटेको उनको भनाइ छ । उनले भने, ‘शुल्क सस्तो बनाउँदा यो वर्ष विक्री हुने बीमालेखको संख्या बढेको छ । तर, त्यसको अनुपातमा बीमाशुल्क बढेको छैन ।’

बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार बीमाशुल्क संकलनलाई आधार मान्दा निर्जीवन बीमा बजारको सबैभन्दा बढी अंश शिखर इन्स्योरेन्स कम्पनीले ओगटेको छ । बीमाशुल्क संकलनको आधारमा शिखर इन्स्योरेन्सले बजारको १३ प्रतिशत अंश ओगटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले १० प्रतिशत, सिद्धार्थ इन्स्योरेन्स र नेको इन्स्योरेन्सले ८/८ प्रतिशत तथा एनएलजी इन्स्योरेन्सले ६ प्रतिशत बजार अंश ओगटेका छन् । यसका अलावा अन्य कम्पनीको बजार अंश ५ प्रतिशतभन्दा कम छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी छन्, तीमध्ये ४ कम्पनीले रू. ५० करोडभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भएका छन् । ५० करोडभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा शिखर, सगरमाथा, सिद्धार्थ र नेको इन्स्योरेन्स छन् ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले रू. ९२ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी सगरमाथा इन्स्योरेन्सले ६८ करोड, सिद्धार्थ इन्स्योरेन्सले ५९ करोड र नेको इन्स्योरेन्स ५६ करोड बीमाशुल्क संकलन गरेका छन् । यसैगरी पछिल्लो समय आएका तीन निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स बलियो देखिएको छ । उक्त कम्पनीले समीक्षा अवधिमा २० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तथ्यांकअनुसार नयाँ तीन बीमा कम्पनीले मात्र रू. ४३ करोड बीमाशुल्क संकलन गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)