कात्तिक २३, पर्वत । पर्वतको धार्मिक, पर्यटकीय तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिएको हम्पाल क्षेत्रको संभाब्यता अध्ययन शुरु गरिएको छ ।
जलजला गाउँपालिकाले हम्पालमा केवुलकार सञ्चालन गर्ने, सिमसार क्षेत्र घोषणा गर्ने, धार्मिक, पर्यटकीय र जैविक विविधताको अनुन्धान केन्द्र बनाउने नीति लिए अनुसार यसको संभाब्यता अध्ययनको काम शुरु भएको हो ।
समुन्द्री सतहदेखि ३ हजार ३०० मिटर उचाईमा रहेको यो क्षेत्रमा ताल निर्माणका साथै आकर्षक रिसोर्टहरु संचालन गर्ने र निलकण्ठेश्वर महादेवको मन्दिरको पुर्नर्निमाण गरि धार्मिक पर्यटकलाई आकर्षित गर्ने योजना छ ।
गाउँपालिकाले हम्पाल क्षेत्रको डीपीआर तयार गरि अर्को आर्थिक वर्षमा पूर्वाधार निर्माणको काम शुरु गर्ने तयारी गरेको अध्यक्ष यामबहादुर मल्लले बताए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र प्रतिनिधिसभा सदस्य पदम गिरी सहितका नेताहरुले गत बुधवार अवलोकन गरि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरुको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रुपमा व्याख्या गरिएको हम्पाल क्षेत्रको धेरै भूभाग जलजला गाउँपालिका ५ लेकफाँट र ६ शालीजामा फैलिएको छ । पर्वतको सबैभन्दा उच्च स्थान जलजलाबाट हिमश्रृंखला, सुर्योदय, सुर्यास्त र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुछ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, तथा १० ओटा जिल्लाको अवलोकन गर्न सकिन्छ । लालीगुराँसको जंगल रहेको हम्पालमा पोखरी आकारको ठूलो फाँट रहेको छ । त्यहाँ बाँध बाँधेर तलाउ बनाउने विषयमा संभाब्यता अध्ययन गरिने भएको छ ।
निरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडीवुटीहरु प्रशस्त पाईने जलजला क्षेत्रको जंगलमा मृग, घोरल, चितुवा, भालू, डाँफे, मुनाल, कालीज लगायत पशुपंक्षी रहेका छन् ।