ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यवसायी ज्योति थप पाँच दिन हिरासतमा 

नेपाल उद्योग वाणिज्य महासंघले पनि गर्‍यो विरोध

Nov 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ज्योति समूहका उपाध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री डा. रूप ज्योतिलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले उनकी छोरी सुरुचि ज्योतिलाई पनि पाँचै दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतवार न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले  प्रहरीलाई यस्तो अनुमति दिएको हो । 

अदालतले गत शुक्रवार उनीहरूमाथि अनुसन्धान गर्नका लागि ३ दिनको समय दिएको थियो । आइतवार उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले ज्योतिका बाबु छोरी दुवै जनालाई थुनामा राखेर नै अनुसन्धान गर्न अनुमति दिएको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले उनीहरूमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अदालतले थुनामा नै राखेर अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद दिएको छ । हामीले प्रक्रियागत रूपमा नै अनुसन्धान अगाडि बढाएका छौं ।’ प्रहरीले गत बिहीवार ज्योतिका बाबु छोरीलाई सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

विज्ञेन्द्रकृष्ण मल्लले जग्गा कारोबारमार्फत रू. १ करोड ३६ लाख ७५ हजार ठगी गरेको भन्दै २०७५ मङ्सिर १६ गते उनीहरूविरूद्ध  प्रहरीमा जाहेरी दिएका थिए ।

सोही आधारमा जिल्ला अदालत काठमाडौंले गत वर्ष मङ्सिरमा नै ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसविरुद्ध ज्योतिले २०७५ मङ्सिरमा नै सर्वोच्चमा रीट दिएका थिए । तर, गत बुधवार सर्वोच्चले उनको विपक्षमा फैसला सुनाउँदै पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो, त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

नेपाल उद्योग वाणिज्य महासंघको पनि आपत्ति 
यसैबीच नेपाल उद्योग बाणिज्य महासंघले पनि रूप ज्योति पक्राउ परेको विषयमा आधिकारिक रूपमा नै आपत्ति व्यक्त गरेको छ । महासंघले आइतवार स्थायी समितिको बैठकमार्फत एक विज्ञप्ति जारी गर्दै आपत्ति व्यक्त गरेको हो । प्रतिष्ठित उद्योगपतिमाथि विना सोचविचार हतारमा गरिएको यस व्यवहारले निजीक्षेत्र निरूत्साहित भएको महासंघको भनाइ छ । 

महासंघले मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिँदै हजारौंलाई रोजगारी दिएका ज्योतिलाई यसरी पक्राउ गर्न नहुने बताएको छ । महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्यमशीलताको प्रवर्द्धन गर्दै मुलुकलाई ठूलो मात्रामा राजस्वसमेत बुझाउँंदै आएका डा. रूप ज्योतिमाथि गरिएको यस्तो व्यवहारले निजीक्षेत्र प्रोत्साहित नहुने अवस्थामा पुगेको छ, यसरी निजीक्षेत्रलाई हतोत्साहित पार्ने कार्य नहुनुपर्ने थियो ।’

यसैबीच महासंघका पदाधिकारीले आइतवार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा पुगेर रूप ज्योतिसँग भेटघाट पनि गरेका छन् । महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू चन्द्र ढकाल, किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठ ज्योतिलाई भेट्न गएका हुन् । भेटघाटमा ज्योतिले आफूलाई यस घटनामा नियोजित ढंगले फँसाउन खोजिएको बताए । महासंघका उपाध्यक्ष चन्द्र ढकालले ज्योतिको भनाइ उद्धृृत गर्दै भने, ‘ल्याण्डमार्क डेभलपर्स प्रालिको म शेयरहोल्डर र सञ्चालक पनि होइन । तसर्थ, मलाई यस घटनामा मुछ्न आवश्यक थिएन ।’

यसैबीच असनका नेवार समुदायसँग सम्बन्धित उदाय् समाजले रूप ज्योति पक्राउको विरोध गर्दै आइतवार काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन पनि गरेको छ ।

यो पनि हेर्नुहोस् :

रूप ज्योति पक्राउ प्रकरण : निजीक्षेत्रको आपत्ति

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)