ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन आयातमा थप कडाइ

Nov 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सुन तस्करीलाई निरुत्साहित गर्न सरकारले सुनको भन्सार दर बढाएको छ । आर्थिक ऐन २०७६ को भन्सार सम्बन्धी अनुसूचीलाई परिवर्तन गर्दै व्यापारिक प्रयोजनका लागि आयात हुने सुनको भन्सार दर प्रति १० ग्राम ५ हजार रुपैयाँबाट बढाएर ६ हजार ५ सय  रुपैयाँ पुर्‍याइएको छ ।  

त्यस्तै, विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहनामा भन्सार महसुल दरमा हेरफेर गर्दै कडाइ गरिएको छ । नयाँ दर अनुसार ५० ग्रामसम्म सुन ल्याउने यात्रुले प्रति १० ग्राम ७ हजार ५ सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्नेछ । यसअघि यो महसुल ६ हजार २ सय रुपैयाँ थियो । त्यस्तै, सुनका गरगहना ल्याउने यात्रुले अब प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ भन्सार महसुल तिर्नुपर्नेछ । 

अर्थ मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव धनिराम शर्माले सुन तस्करीलाई रोक्न भन्सार दर हेरफेर गरिएको बताए । उनका अनुसार भारतमा सुनको भाउमा उतारचढाव हुँदा नेपाललाई ट्रान्जिट बनाई सुन तस्करी हुँदै आएको छ, त्यसलाई नियन्त्रण पार्न सरकारले आयातमा कडाइ गरेको हो ।

भारतको भन्दा सुन सस्तो भएको भन्दै सुनको भन्सार महसुलमा वृद्धि गरिएको हो । नेपालबाट भारत सुन तस्करी बढेको भन्दै सुनचाँदी व्यवसायी पनि भन्सार महसुल बढाउनुपर्ने पक्षमा थिए । भारत सरकारले केही समयअघि सुन आयातमा दुई प्रतिशत भन्सार दर बढाएपछि नेपालमा सुन सस्तो भएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार पछिल्लो हेरफेरले नेपालबाट भारतमा हुने सुन तस्करीमा कमी आउनेछ । भन्सार दरको पछिल्लो हेरफेरले नेपाली बजारमा सुनको मूल्य तोलाको ११ सय रुपैयाँले बढेको छ ।

विश्व बजारमा सुन लगानीको सुरक्षित क्षेत्र रहे पनि अनुत्पादनशील क्षेत्र भएकाले त्यसमा हुने लगानीलाई सरकारले प्रोत्साहन गर्न जरुरी नरहेको करविज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन् । उनका अनुसार तस्करीलाई कम गर्न सरकारले सुनमा भन्सार दर बढाएको हो भने सकारात्मक हो । ‘सुनमा भन्सार बढाइँदा चीनबाट हुँदै आएको सुन चोरी पैठारी बढ्नेतर्फ सरकार सजक हुनुपर्छ । सरकारले यसमा अध्ययन अनुसन्धान बढाउन जरुरी छ,’ अधिकारीले बताए ।  

शाक्यका अनुसार भन्सार महसुल वृद्धिको सकारात्मक प्रभाव राजस्वमा पर्नेछ । ‘यसअघि एक केजी सुनको आयातमा सरकारले ५ लाख रुपैयाँ राजस्व पाउथ्यो भने अब त्यो बढेर साढे ६ लाख रुपैयाँ पुगेको छ,’ उनले भने । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)