ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रूप ज्योति पक्राउ प्रकरण : पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको अनुमति

Nov 12, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा


काठमाडौं । जिल्ला अदालत काठमाडौंले ज्योति समूहका अध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ गर्न महानगरीय प्रहरी परिसर टेकुलाई अनुमति दिएको छ । सोमवार जिल्ला अदालतले यस्तो अनुमति दिएको हो ।

अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले प्रहरीको मागअनुसार पद्म ज्योतिलाई पनि पक्राउ गर्न अनुमति प्रदान गरिएको आर्थिक अभियानलाई बताए । रूप ज्योति पक्राउ गरिएको विषयमा नै थप अनुसन्धान गर्न उनलाई पक्राउ गर्ने अनुमति प्रदान गरिएको प्रहरीले बताएको छ । पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पनि हुन् । 

अदालतका से्रेस्तेदार श्रेष्ठले भने, ‘परिसरका प्रहरीहरू थप अनुसन्धानका लागि पद्म ज्योतिलाई पनि पक्राउ गर्नुपर्ने देखियो भन्दै अनुमति माग्न आएका थिए । त्यसपछि अदालतले पद्म ज्योतिलाई पनि पक्राउ गर्ने अनुमति दिएको हो ।’ तर, महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले यस विषयमा केही खुलाउन चाहेनन् । ‘अहिले रूप ज्योतिमाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको छ,’ उनले बताए ।
 
घर जग्गाको कारोबारमा ठगी गरेको आरोपमा गत बिहीवार प्रहरीले पद्म ज्योतिका भाइ तथा ज्योति समूहका उपाध्यक्ष डा. रूप ज्योतिलाई उनकी छोरी सुरुचिसहित पक्राउ गरेको थियो । हाल प्रहरीले उनीहरूलाई हिरासत राखेर अनुसन्धान गरिरहेको छ । 

विज्ञेन्द्रकृष्ण मल्लले जग्गा कारोबारमार्फत रू. १ करोड ३६ लाख ७५ हजार ठगी गरेको भन्दै २०७५ मङ्सिर १६ गते उनीहरूविरूद्ध  प्रहरीमा जाहेरी दिएका थिए । सोही आधारमा जिल्ला अदालत काठमाडौंले गत वर्षको मङ्सिरमा नै ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसविरुद्ध ज्योतिले २०७५ मङ्सिरमा नै सर्वोच्चमा रीट दिएका थिए । तर, गत बुधवार सर्वोच्चले उनको विपक्षमा फैसला सुनाउँदै पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो ।

ज्योतिमाथि अमर्यादित व्यवहार : नेपाल–चीन उद्योग वाणिज्य संघ
रूप ज्योतिको पक्राउप्रति नेपाल–चीन उद्योग वाणिज्य संघले पनि आपत्ति व्यक्त गरेको छ । संघले सोमवार विज्ञप्तिमार्पmत नेपालका प्रतिष्ठित उद्योगी ज्योतिमाथि भएको अमर्यादित व्यवहार खेदपूर्ण भएको बताएको छ । 

यस घटनाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरू हतोत्साहित हुने तथा सम्पूर्ण निजीक्षेत्रमा नकारात्मक असर पर्न सक्ने संघको भनाइ छ । संघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राज्यले प्रतिष्ठित व्यापारीमाथि सम्मानजनक व्यवहार गर्नुपर्छ । विस्तार हुँदै गएको उद्योग, व्यापार तथा लगानीको वातावरणलाई खलबल पार्न सक्ने कार्य नगर्न सरकारप्रति अनुरोध छ ।’

‘नेपाल तथा चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै मुलुकमा लगानी विस्तार, औद्योगिकीकरण तथा व्यापार प्रवद्र्धनमा समेत ठूलो योगदान रहेको प्रतिष्ठित उद्योगीप्रति भएको अमर्यादित व्यवहार खेदपूर्ण रहेको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)