पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्र गर्न थालिएको छ । जेठमा शुरू गरेर छोडिएको कालोपत्रको काम अहिले पुनः सञ्चालन भएको हो । बागलुङ सिमाना मालढुंगादेखि पर्वत सदरमुकामको जिरोसम्म १२ किलोमिटर खण्डमा कालोपत्र गर्न शुरू भएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।
मध्यपहाडी लोकमार्गको २४ किलोमिटर खण्ड पर्वत जिल्ला भित्र पर्छ । दुई खण्डमा विभाजित गरेर कालोपत्रको काम शुरू भएको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले जानकारी दिए । ‘दशैंसम्म काम सक्ने लक्ष्य थियो,’ मगरले भने, ‘मौसमले साथ नदिएपछि काम रोकिएको थियो ।’ आगामी असारसम्म पर्वत खण्डको काम सक्न निर्देशन दिएको उनले बताए ।
कुश्मा बजारभित्र चार लेन र अन्य स्थानमा दुई लेनको सडक बनाउन थालिएको हो । कुश्मादेखि अँधेरी खोलासम्म दोस्रो चरणमा कालोपत्र गरिने थापा मगरले बताए । पर्वत खण्ड लामा कन्स्ट्रक्शन कम्पनीले स्तरोन्नति गरिरहेको छ । सडक विस्तारका क्रममा भत्किएको पहिरो र खाल्डाखुल्डी पुर्ने, नाली बनाउने, मेसिनरी वाल, सडक चौडा पार्ने लगायतको काम सकेर कालोपत्रको काम धमाधम अगाडि बढेको लामा कन्स्ट्रक्शनका परियोजना प्रवन्धक गोविन्दप्रसाद भुसालले बताए ।
कुश्मामा संरचना भत्काउने र चुवा र छमर्केको घुम्तीमा करीब सय मिटर पहरो काट्ने मुख्य काम बाँकी छ । भुसालले भने, ‘मंसिरसम्म छमर्केसम्म सक्छौं । असारभित्रै कुश्मासम्मको सबै भाग कालोपत्र गरिसक्ने योजना छ ।’ मौसम चिसो भएकोले कालोपत्रका लागि बिच्छ्याइएको अलकत्रा र गिटी सुक्न समय लागेकाले अपेक्षित रूपमा प्रगति नदेखिएको उनले सुनाए । भुसालले भने, ‘अहिले सयभन्दा धेरै कामदार कालोपत्रमा मात्रै खटिएका छन् ।’
पर्वतखण्डको सडक दुई लेनको बनाउने गरी लामा कन्स्ट्रक्शनले २०७४ वैशाखमा ३ वर्षको समय लिएर सम्झौता गरेको थियो । पछिल्लो सफलताअनुसार सम्झौताभन्दा धेरै प्रगति भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ । राष्ट्रिय गौरवको यो सडक आयोजना विस्तारको काम ढिलो भइरहेको भन्दै स्थानीय सरोकारवालाले बेलाबेलामा विरोध गर्दै आएका छन् ।