ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार सार्ने तयारीले आयातकर्ता समस्यामा

सम्पर्क सडक स्तरोन्नतिको पहल गरिदिन सरकारलाई आग्रह

Nov 12, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारतीय रेलवेको रक्सौल यार्डदेखि एकीकृत जाँच चौकी (आईसीपी) सम्मको सम्पर्क सडक तत्काल स्तरोन्नतिका लागि पहल गरिदिन आयातकर्ताले सरकारलाई आग्रह गरेका छन् । भारतीय सीमा शुल्क आयुक्तले सीमावर्ती रक्सौल भन्सारलाई आईसीपीमा सार्ने तयारी थालेपछि आयातकर्ताले यस्तो आग्रह गरेका हुन् । 

वीरगञ्ज उद्योग वाणिज्य संघले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयलाई बेग्लाबेग्लै पत्र पठाएर सडक स्तरोन्नतिका लागि भारतीय पक्षसित पहल गरिदिन माग गरेको हो । भारतीय पक्षले सडक स्तरोन्नति शुरू गरे पनि पूरा नहुँदै भन्सार सार्न थालिएपछि आयातकर्ता चिन्तित भएका हुन् । 

७५० मीटर दूरीको सम्पर्क सडकको स्तरोन्नति पूरा नभएसम्म भन्सार यथास्थानमा राख्नुपर्ने व्यवसायीको माग छ । ‘रेलको रक्सौल यार्डदेखि आईसीपीसम्मको सम्पर्क सडक सुधार नभएसम्म रक्सौलबाट मालसामान लैजान अत्यन्तै असहज हुन्छ,’ संघका महासचिव माधव राजपालले भने, ‘सरकारले यसका लागि भारतीय पक्षसित जतिसक्दो चाँडो पहल गरिदिनु पर्छ ।’ 

भारतीय सीमा शुल्क आयुक्तको कार्यालयले रक्सौल भन्सारलाई आईसीपीमा सार्ने प्रक्रिया अघि बढाएपछि स्वदेशी आयातकर्ता दबाबमा परेका हुन् । रक्सौल भन्सारले यसबारेमा सोमवार सरोकारका पक्षसित छलफलसमेत गरेको छ । छलफलमा सहभागी व्यवसायीले रक्सौलबाट आईसीपीसम्मको सडक सञ्चालनमा नल्याई भन्सार सार्दा नेपालतर्फको ढुवानीमा नकारात्मक प्रभाव पर्ने बताएका छन् ।

रक्सौल भन्सार आईसीपीमा सार्दा इनर्वा नाकाबाट हुँदै आएको आयातनिर्यात पूर्ण रूपमा आईसीपीमै केन्द्रित गर्नुपर्ने हुन्छ । आईसीपीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन इनर्वा नाका बन्द गर्ने योजना सरकारको पनि छ । रेलबाट रक्सौलमा अनलोड भएका मालसामान आईसीपीसम्म पुर्‍याउन सडक सहज सम्पर्कको भने अभाव छ । रक्सौलबाट आईसीपीको बाईपास सडकसम्मको दूरी ७५० मीटरमात्र छ । तर, यो सडक स्तरोन्नति भइसकेको छैन ।

यथास्थितिमा भन्सार स्थानान्तरण भए रक्सौल–लक्ष्मीपुर १५ किलोमीटर अतिरिक्त दूरी पार गरेर आईसीपीसम्म मालसामान पुर्‍याउनुपर्ने संघका पूर्वअध्यक्ष प्रदीप केडिया बताउँछन् । यसले ढुवानीको लागत बढ्ने दाबी केडियाको छ । ‘हामीले रक्सौल यार्डबाट आईसीपीसम्म पहुँच मार्गका लागि पहल गर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको हो । तर, सरकार यसको व्यवस्थापनमा उदासीन बन्यो । अहिले आयातकर्तालाई तनाव भएको छ,’ केडियाले आर्थिक अभियानसित भने । 

व्यवसायीले आईसीपी सञ्चालनमा आउनुअगावै रक्सौलको रेल स्टेशनबाट आईसीपीसम्म सम्पर्क सडकको आवश्यकता औंल्याएका थिए । आईसीपीबाट आयातनिर्यात शुरू भएको डेढ वर्ष बितिसक्दा पनि सडक स्तरोन्नतिको काम पूरा भएको छैन । 

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले रक्सौल भन्सार सार्ने विषयमा छलफल भएको अनौपचारिक जानकारी आएको बताए । रक्सौल यार्डदेखि आर्इृसीपीसम्म पहुँचमार्ग स्तरोन्नति पूरा नभई पूर्ण रूपमा स्थानान्तरण सम्भव नहुने पनि उनले बताए । सडकको स्तरोन्तति शुरू भइसकेकाले चाँडै सञ्चालनमा आउने विश्वास उनको छ ।   

अहिले पनि रक्सौलबाट इनर्वा हुँदै औद्योगिक कच्चा पदार्थ, उपभोग्य वस्तु र पेट्रोलियम बोकेका दैनिक १ हजार गाडी आवागमन हुने महासचिव राजपालले बताए । कोइला, जिप्सम, फ्लाइयास, आइरनओर, फलाम, मलखाद, नूनलगायका वस्तु रेलबाट रक्सौलमा आउँछन् । भारतीय आयल निगमको रक्सौल डिपोबाट डिजेलका ७० र पेट्रोलका ४० हाराहारी गाडी दिनहुँ यही नाकाबाट भित्रिन्छन् । यी गाडीलाई आईसीपीमा पुर्‍याउन सम्पर्क सडकलाई कम्तीमा २ लेनको बनाइनुपर्ने संघका अध्यक्ष गोपाल केडिया बताउँछन् । 

रक्सौल–आइसीपी ७५० मीटर सडक अहिले अतिक्रमणमा परेकाले अधिकांश स्थानमा एकतर्फी छ । ‘२ ठाउँका पुल अत्यन्तै जीर्ण अवस्थामा छन् । यसको पुनर्निर्माण नभई मालवाहक गाडी चलाउन सकिँदैन,’ राजपालको भनाइ छ । रक्सौल रेल यार्डबाट यो मार्ग हुँदै आईसीपीमा गाडी पुर्‍याउन अहिले २ लेनको लक्ष्मीपुर–आईसीपी बाइपास सडकलाई ४ लेनमा विस्तार गरिनुपर्ने र रक्सौल रेलवे स्टेशनबाट जाने गाडीलाई बेग्लै डेडिकेटेड मार्गको व्यवस्था मिलाइनुपर्ने माग राजपालले गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)