धनगढी । नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरिया (कैलाली)ले ३३ करोडभन्दा बढी विद्युत् महशुल उठाउन बाँकी रहेको पाइएको छ । कार्यालयको तथ्यांक अनुसार गत आव २०७५/७६ सम्मको मात्रै रू. ३३ करोड ७ लाख महशुल संकलन हुन सकेको छैन । उक्त बक्यौता रकम कार्यालय मातहतका ११ ओटा वितरण केन्द्रको नाममा देखिएको छ ।
प्राधिकरणको कालोसूचीमा रहेका ग्राहकको बक्यौता रकम रू. १ करोड ३८ लाख ४७ हजार रहेको कार्यालये बताएको छ । वितरण केन्द्रका नाममा ठूलो रकम बक्यौता देखिएपछि अत्तरियाका प्रमुख सतीशकुमार कर्णले सम्बन्धित ग्राहकको लाइट काट्न केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बाजुरा हालै मात्र प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएकाले उक्त केन्द्रको बक्यौता नभएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशका नौओटै जिल्ला नेपाल विद्युत् प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । यससँगै १२ ओटा विद्युत् वितरण केन्द्र स्थापना गरिएको प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख कर्णले जानकारी दिए । हालै बाजुरा राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि प्रदेशका ६२ प्रतिशत नागरिक विद्युत् पहुँचमा पुगेको कार्यालयले बताएको छ ।
विद्युत् महशुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्र प्रमुखहरूलाई निर्देशन दिइसकिएकाले केही महीनाभित्र अधिकांश रकम संकलन हुने अपेक्षा आपूmले गरेको कर्णले बताए । प्रदेशमा सडक बत्तीबापतको रू. ९ करोड ४८ लाख २० हजार, गैरव्यापारिक रू. १ करोड ६८ लाख २२ हजार र कालोसूचीमा राखिएका ग्राहकबाट रू. १ करोड ३८ लाख ४७ हजार उठ्न बाँकी छ । यस्तै अन्य ग्राहकबाट रू. २० करोड ५२ लाख १० हजार विद्युत् बक्यौता संकलन गर्न बाँकी रहेको प्रादेशिक कार्यालय, अत्तरियाले बताएको छ ।