ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार वडाको कार्यालय एउटै कोठामा

Nov 13, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकाका चारओटा वडाको कार्यालय एउटै कोठामा राखिएका छन् । १० वडा रहेको उक्त नगरपालिकाका वडा नं १, २, ४ र ५ को कार्यालय साविक चाँदनी गाविसको भवनमा छ । यस्तै वडा नं ७, ८, ९ र १० को कार्यालय साविक दोधारा गाविसमा छ । 

नगरपालिकाका वडा नं ३ र ६ को कार्यालय भने छुट्टाछुट्टै छन् । शुरूमा वडा नं ६ को कार्यालय पनि वडा नं ७, ८, ९ र १० सँगै भए पनि हाल उसले छुट्टै घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । वडा कार्यालय भवन नहुँदा एउटै भवनबाट सेवा सम्पादन गर्नुपरेको वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बहेकले बताए । उनका अनुसार सबै वडा कार्यालयको आफ्नै भवन नहुँदा सेवाग्राहीलाई समस्या हुने गरेको छ ।

भवनभित्रको एउटा कोठामा लहरै वडाध्यक्षका चार कुर्सी र चार टेबल राखिएका छन् भने प्रत्येक टेबलमा एक/एक थान कम्प्युटर पनि छ । ‘चारैजना अध्यक्षहरू एउटै कोठामा बसेर काम गर्छौं,’ वडाध्यक्ष बहेकले भने भने, ‘वडा सचिवहरू पनि एउटै कोठामा बसेर काम गर्नुहुन्छ । केहिलेकाहीँ एक वडाको छाप अर्को वडाको सेवाग्राहीको कागजपत्रमा समेत पर्ने गरेको छ ।’ दरबन्दी अनुसार कर्मचारी नहुँदा दुई सचिवले चार वडा कार्यालय चलाइरहेका छन् ।

चार वडा कार्यालयको एउटा मात्रै कार्यालय सहयोगी रहेको वडाध्यक्ष बहेकले बताए । कार्यालय सहयोगी बिदामा भएको बेला कार्यालय सहयोगीको जिम्मेवारी पनि आफैले लिनुपर्ने अवस्था रहेको गुनासो उनले गरे । त्यस्तै वडा नं ८ का अध्यक्ष ओमप्रकाश रोकायाले पनि वडा कार्यालयको आप्mनै भवन नहुदाँ सेवा सम्पादनमा समस्या भएको बताए । वडा कार्यालय निर्माणका लागि नगरपालिकामा पहल गरिए पनि सुनुवाइ नभएको उनको भनाइ छ । सेवाग्राहीहरू आप्mनो वडा कार्यालयबाट पाउनुपर्ने सेवा सुविधाका लागि अर्कोे वडा कार्यालय धाउन बाध्य छन् ।

महाकाली नगरपालिकाकी उपप्रमुख चिनी गिरीले भने वडा कार्यालयसँग जग्गा नहुँदा भौतिक संरचना निर्माणमा समस्या भएको बताइन् । वडामै कार्यालय भवन निर्माणका लागि जग्गा खोजीको कार्य भइरहेको उनको भनाइ छ । ‘वडा कार्यालयका लागि जग्गा दान गर्ने व्यक्तिको खोजी गरिरहेका छौं,’ उनले भनिन्, ‘कतैबाट जग्गा प्रदान भएमा तत्काल वडा कार्यालय भवनको निर्माण कार्य अगाडि बढ्छ ।’ साथै नगरपालिका हाल सबै वडाका लागि जग्गा खरीद गर्न सक्ने अवस्थामा नरहेको उनले बताइन् । नगरवासीलाई सेवा दिने काम भइरहेको र निजी घर भाडामा लिएर कार्यालय चलाउँदा आर्थिक भार थपिने उनको तर्क छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)