ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनमा ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ 

थप तथ्यांक संकलनका लागि मोेडालिटी तय हुँदै 

Nov 13, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । पर्यटन क्षेत्रमा ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ लागू गर्ने क्रममा आवश्यक तथ्यांक संकलनका लागि नयाँ मोडालिटी तय गरिने भएको छ । नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्यांक विभाग र अध्यागमन कार्यालय तथा आफैसँग भएका ‘डेटा इन्ट्री’ गरिरहेको नेपाल पर्यटन बोर्डले सम्बद्ध क्षेत्रका अन्य तथ्यांक समेट्न नयाँ मोडालिटी तय गर्न लागेको हो ।

‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ पर्यटन क्षेत्रबाट देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान गणना गर्ने प्रणाली हो । पर्यटन क्षेत्रभित्रका विभिन्न सूचक समावेश गरी यो गणना गरिन्छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा अहिले पर्यटन क्षेत्रअन्तर्गतका होटल र ट्राभल कम्पनीबाट मात्र योगदान गइरहेको अवस्थामा उक्त क्षेत्रभित्रकै अन्य क्षेत्रलाई मुलुकको अर्थतन्त्रसँग जोड्नका लागि यसले सहयोग गर्नेछ । यसका लागि एक दर्जनभन्दा बढी सर्वे पूरा गरी ‘डेटा इन्ट्री’ शुरू गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।  

नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चालू आर्थिक वर्षदेखि सरकारले औपचारिक रूपमा ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’को काम थालिसकेको छ । 

राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)को प्राविधिक तथा यूएनडीपीको रू. ५० लाखको आर्थिक तथा प्राविधिक सहयोगमा बोर्डले यो प्रणालीअनुसार ‘डेटा इन्ट्री’को काम शुरू गरेको हो । नयाँ मोडालिटी तय गर्न नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्यांक विभाग तथा अन्य सरोकारवालाहरूसँग छलफल गरिएको बोर्डले जानकारी दिएको छ । मन्त्रालयले चालू आवभित्रै यसको तयारीको काम पूरा गरी नयाँ आर्थिक वर्षदेखि यो प्रणालीलाई पूर्णरूपमा लागू गर्ने सोच राखेको पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । 

मन्त्रालयले पनि चालू आवमा सम्पादन हुने प्रमुख प्राथमिकताका कार्यक्रमहरूको सूचीमा यसलाई पनि समेटेको छ । यो प्रणालीको विकासले पर्यटन क्षेत्रको छरिएका तथ्यांक र यसको समग्र योगदान आउने भएकाले यो अत्यन्त महत्त्वपूर्ण भएको उनले बताए ।

छुटेको क्षेत्रको तथ्यांक संकलनका लागि कस्तो मोडालिटी तय गर्ने भन्ने बारेमा सरोकारवालाहरूसँग छलफल भएको र छिट्टै नयाँ मोडालिटी तय गरिने पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले बताए । ‘हामीले थप तथ्यांक संकलनका लागि नयाँ मोडालिटी तय गर्नेबारे छलफल गरेका छौं । मोडालिटी तय भएपछि पर्यटनमा हाल नसमेटिएका तर पर्यटन क्षेत्रसँग सम्बद्ध तथ्यांक पनि समावेश हुनेछन्,’ उनले भने । हाल पर्यटन क्षेत्रका सबै सूचकको गणना गरिएको छैन । नयाँ मोडालिटीले छुटेका सूचकलाई पनि समावेश गर्ने छ ।  

जीडीपीमा पर्यटन क्षेत्रको यथार्थ योगदान पत्ता लगाउन र पर्यटनसँग सम्बद्ध तथ्यांक एकीकृत रूपमा थाहा पाउन यो प्रणालीले सहयोग गर्ने सरकारको अपेक्षा छ । 
वर्ल्ड टुरिजम् काउन्सिलका अनुसार अहिले नेपालमा पर्यटन क्षेत्रले करीब ५ लाख रोजगारी सृजना गरेको छ । जुन नेपालको कुल रोजगारीको ३ दशमलव २ प्रतिशत हो । नेपालको तथ्यांकअनुसार अहिले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशतमात्र रहेको छ । त्यसमा होटल, ट्राभल, ट्रेकिङ आदि क्षेत्रमात्र समावेश छन् ।

सन् २०२० सम्ममा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतसम्म पुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमान छ । वल्र्र्ड टुरिजम् काउन्सिलकै तथ्यांकलाई आधार मान्दा पनि नेपालको जीडीपीमा पर्यटन क्षेत्रको योगदान करीब ८ प्रतिशत  छ । यो प्रणाली लागू भएपछि अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढ्ने सरकारी अपेक्षा छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)