ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार : अब इमेलमार्फत नै श्रम स्वीकृति

पासपोर्टमा श्रम स्वीकृतिको स्टीकर टाँस्नु नपर्ने

Nov 13, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगार विभागबाट पाउने श्रम स्वीकृतिको स्टीकर अब इमेलमार्फत नै पाउने भएका छन् । उक्त विभागले मंगलवारदेखि कामदारलाई राहदानी (पासपोर्ट)मा टाँस्ने स्टीकरको सट्टा ई–स्टीकर दिन शुरू गरेको छ, जसअनुसार कामदारले आफ्नो इमेलमार्फत नै श्रम स्वीकृतिको स्टीकर पाउने भएका हुन् ।

योसँगै वैदेशिक रोजगारीको श्रम स्वीकृति लिँदा पासपोर्टमा स्टीकर टाँस्ने प्रचलनको अन्त्य भएको छ । कामदारले इमेलमार्फत प्राप्त हुने इ–स्टीकर प्रिन्ट गरेर वा मोबाइलमै राखेर त्रिभुवन विमानस्थलको अध्यागमन लगायतका आवश्यक ठाउँमा देखाउन सक्नेछन् ।

साथै, कामदारले श्रम स्वीकृतिका लागि श्रम कार्यालयमा एकपटक मात्र पासपोर्ट बुझाए हुने भएको छ । ई–स्टीकरमार्फत श्रम स्वीकृति लिएका कामदारले अर्काे पटक स्वीकृति लिँदा सम्बद्ध कार्यालयमा पासपोर्ट नम्बर मात्र बुझाए हुनेछ । त्यसपछि निजको इमेलमा नै श्रम स्वीकृतिको ई–स्टीकर पठाउने व्यवस्था गरिएको छ । 

विभागले मंगलवार काठमाडौंबाट नयाँ श्रम स्वीकृति लिने कामदारहरूलाई मात्र यस्तो स्टीकर प्रदान गरेको छ भने काठमाडौंबाटै पुनः श्रम स्वीकृति लिने कामदारले बुधवार (आज) देखि नै ई–स्टीकर पाउने छन् । काठमाडौं बाहिरको हकमा भने ढिलोमा पनि आगामी शुक्रवारदेखि ई–स्टीकर प्रदान गर्ने तयारी छ ।

विभागले हाल काठमाडौंको सोल्टीमोडस्थित श्रम कार्यालयबाट मात्रै नयाँ श्रम स्वीकृति दिँदै आएको छ । प्रदेशमा रहेका श्रम कार्यालयमार्फत पुनः श्रम स्वीकृति मात्र प्रदान गरिँदै आएको छ । 

विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने, ‘हामीले प्रदेशका कार्यालयहरूलाई पनि ई–स्टीकर लागू गर्न पत्राचार गरिसकेका छौंं, जसअनुसार ढिलोमा पनि शुक्रवारदेखि सबै कार्यालयबाट ई–स्टीकर वितरण हुन्छ ।’ साथै, विदेशमा रहेका नेपाली दूतावासमार्फत पुनः श्रम स्वीकृति लिदाँ पनि ई–स्टीकर नै प्रदान गरिने उनको भनाइ छ । 

यद्यपि, केही समयका लागि श्रम स्वीकृतिको ई–स्टीकर इमेल मार्फतसँगै छुट्टै प्रिन्ट गरेर पनि कामदारलाई दिइनेछ । ‘यो व्यवस्था पूर्ण रूपमा लागू गर्न कुनै समस्या छैन । हामीले आवश्यक मात्रामा प्राविधिक संयन्त्र तयार गरिसकेका छौं,’ महानिर्देशक भुुसालले भने, ‘तर, कामदारहरू अझै इमेल प्रयोग गर्ने विषयमा अभ्यस्त छैनन् । त्यसैले उनीहरूलाई इमेल प्रयोग गर्ने बानी पार्नको लागि यस्तो गरेका हौं ।’ 

वैदेशिक रोजगारमा जाने कामदारको पहिलेदेखि नै अनिवार्य रूपमा इमेल ठेगाना हुनुपर्ने व्यवस्था छ । तर, अझै पनि अधिकांश कामदार यसको प्रयोगमा अभ्यस्त नभएको महानिर्देशक भुसाल बताउँछन् ।

श्रम स्वीकृतिको ई–स्टीकर तयार भएपछि श्रम कार्यालयले सम्बद्ध कामदारको इमेल ठेगानामा पठाउने छ । र, त्यसको जानकारी निजको मोबाइल नम्बरमा म्यासेजमार्पmत गराइनेछ ।

तसर्थ, कामदारले श्रम स्वीकृतिको आवेदन दिँदा मोबाइल नम्बर र इमेल ठेगाना स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने विभागको भनाइ छ । 

हाल दलालहरूले नक्कली स्टीकर बनाएर भारतको बाटो हुँदै सोझासाझा व्यक्तिलाई विदेश पठाउने गरेका छन् । साथै, पासपोर्टमा स्टीकर टाँस्दा पासपोर्ट फोहोर हुने लगायतका समस्या पनि छन् । यसैगरी विभागले स्टीकर छपाइमा नै वर्षेनि लाखौं रकम खर्च गर्दै आएको छ । महानिर्देशक भुसालले भने, ‘गत आव २०७५/७६ मा मात्र स्टीकर छाप्न रू. २१ लाख २० हजार खर्च भयो । तसर्थ, यस्ता विकृतिको अन्त्य गर्दै खर्च पनि कम गर्ने उद्देश्यसहित ई–स्टीकरलाई प्रचलनमा ल्याएका हौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Nanda bal rai

[Nov 13, 2019 02:05am]

Yo ramro soch lae sarba pratham dhannebad nepal govermant sathae sambandhit nikaya karmachariharulae . Yso gare jantaharulae sajilo kam kharcha,kam samay sathae tyeha kam garnu parne karmachari harulae pani mancheko bhid ra gali khanu naparne.yo ramro soch lae salam.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)