ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम विश्वविद्यालय : ७ महीनाअघि लगाइएको ताला अझै खुलेन, नयाँ उपकुलपतिको पर्खाइ

Nov 13, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

कात्तिक २७, महेन्द्रनगर । कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको ७ महीना पूरा भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघले उपकुलपति र रजिष्ट्रार नियुक्तीको विषयलाई लिएर केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । नेवि संघका विद्यार्थीले एउटै विश्वविद्यालयमा २÷२ उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको भन्दै गत चैत २७ गते तालाबन्दी गरेका हुन् ।

यसअघि सरकारले विश्वविद्यालयको सेवाबाट हटाएका तत्कालिन उपकुलपति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार डा. द्विजराज भट्टको कार्यकाल नसकिदैं नयाँ उपकुलपतिमा डा. पूर्ण बहादुर चन्द र रजिष्ट्रारमा डा. गोबिन्द सिंह विष्टलाई निमित्तको जिम्मेवारी दिएको थियो । नेवि संघले विश्वविद्यालयको तत्कालिन उपकुलपति र रजिष्ट्रारको कार्यकाल नसकिदै नयाँ नियुक्ती गरेको भन्दै विरोध गरेको थियो । तत्कालिन उपकुलपति श्रेष्ठको भदौ ६ गते र रजिष्ट्रार भट्टको कात्तिक १२ गते कार्यकाल सकिएको छ । तर विश्वविद्यालयमा नयाँ नेतृत्व आएपछि मात्रै तालाबन्दी खोलिने भन्दै नेवि संघ नयाँ भीसी र रजिष्ट्रारको पर्खाइमा छ ।

विश्वविद्यालयका प्रमुख प्रशासक गोबिन्द बल्लभ पन्तले भने, ‘सरकारले अवैधानिक तरिकाले भीसी र रजिष्ट्रार नियुक्त गरेको भन्दै तालाबन्दी गरिएको छ, तालाबन्दीका कारण विश्वविद्यालयको कामकाज प्रभावित भएको छ ।’ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेसँगै कर्मचारीहरु बाहिरै बसेर सामान्य कामकाज गरेर दिन बिताइरहेका छन् । तालाबन्दी खोल्न विद्यार्थी संगठनलाई वार्तामा बोलाए पनि सम्र्पकमा नआएको विश्वविद्यालयले बताएको छ । भदौ ५ र कात्तिक २५ गते तालाबन्दीबारे छलफलका लागि नेवि संघलाई पत्राचार गरे पनि नेवि संघ भने विविध कारण देखाउदै वार्तामा नआएको विश्वविद्यालयले बताएको छ ।

प्रमुख प्रशासक पन्तले तालाबन्दीले चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमसमेत प्रभावित भएको बताए । समायोजनमा आएका १४ आंगिक क्याम्पससहित केन्द्रीय क्याम्पसको सुधार एवं भाबी योजनाका लागि सिनेटको बैठक अहिलेसम्म बस्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । प्रमुख प्रशासक पन्तले नयाँ उपकुलपति नियुक्त गरिएपछि विश्वविद्यालले निकास पाउने बताए । ‘सरकारले उपकुलपति नियुक्तीको प्रक्रिया शुरु गरिसकेको छ, नयाँ नियुक्ती भएपछि तालाबन्दी खुल्छ,’ उनले भने ।

नेवि संघ सुदूरपश्चिम विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले ताला खोल्ने विषयमा छलफलका लागि विश्वविद्यालयले आग्रह नगरेको दाबी गरे । विश्वविद्यालयमा तालाबन्दी गरिएपछि नयाँ निर्माण गरिएको भवनबाट कर्मचारीले काम गरिरहेको उनको आरोप छ । नेवि संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका चन्दले नयाँ उपकुलपति नियुक्त भएपछि ताला खोलिने बताए । विश्वविद्यालयमा भइरहेको बेथिति विरुद्धमा तालाबन्दी गरिएको उनको भनाइ छ । समन्वय समितिका संयोजक चन्दले उपकुलपति र रजिष्ट्रार हुँदाहुँदै अर्का उपकुलपति र रजिष्ट्रार नियुक्त गरेपछि विवाद सृजना भएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)