ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमाली भेगका खानीको भएन उत्खनन

Nov 14, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुंगा लगायतका बहुमूल्य खानीहरू उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, काली गण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानीहरू अहिलेसम्म पनि संचालनमा नल्याइँदा अलपत्र परेका हुन् ।

म्याग्दीका पश्चिमी तथा उत्तरी क्षेत्रमा तामादेखि लिएर नुनका खानीहरू समेत भएको पुष्टि भए पनि सम्बन्धित निकायको मौनताले र खानी उत्खनन सम्बन्धी प्रष्ट नीतिगत व्यवस्थाको अभावमा खानीहरू अलपत्र परेको स्थानीयले बताएका छन् । म्याग्दीको मालिका गाउँपालिका–५, ओखरबोटमा रहेको नेपालकै उत्कृष्ट मानिएको तामाखानी पनि स्पष्ट नीतिको अभावका कारण उत्खनन गर्न नसकिएको खानीका पूर्वठेकेदार तथा हाल उक्त वडाका अध्यक्ष दिलीप शेरचनले बताए ।

उनका अनुसार जिल्लामा रहेका तामा, स्लेट (घर छाउने ढुंगा), शिलाजित, खरी, चुनढुंगाका खानी वर्षौंदेखि उत्खनन हुन नसक्दा अलपत्र अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै गएका छन् । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । 

तर, रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन भने भइरहेको छ । भगवतीको खरीढुंगा खानी भने बन्द छ । स्थानीय बूढापाकाका अनुसार ओखरबोट, भकिम्ली, गौश्वारा लगायतका ठाउँमा रहेका  तामाखानी २०२८ सालसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर (भेजा) तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो । 

‘तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पुर्खाले उत्खनन गर्न छाडेका हुन्,’ मल्कावाङका ७१ वर्षीय मनबहादुर छन्त्यालले बताए । साविकका गुर्जा, ताकम, कुइनेमंगले, ओखरबोट, मल्कवाङ, भकिम्ली लगायतका गाविसमा करीब २० ओटा तामा खानी रहेका छन् । उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । २०६८ को जनगणनाअनुसार नेपालमा छन्त्याल जातीको जनसंख्या ११ हजार रहेको छ ।

परम्परागत पेशाबाट विस्थापित उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेशामा आवद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर विक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुँघेर पनि खानी पत्ता लगाउने गरेको बूढापाकाहरुको भनाइ रहेको छ ।

खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न खनिएका ५ सय मिटरसम्मका सुरुङहरू ओखरबोटमा अझै भेटिने स्थानीय नवीन पुनले बताए । उनका अनुसार ती सुरुङ अहिले पानी भरिएको ताल बनेको छ भने सुरुङभित्र तामाका धाउहरू असरल्ल अवस्थामा छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेट्टिन्छन् । 

तत्कालीन अवस्थामा छिना, मार्तल, गल, घन, कुटो, कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो । खानी उत्खनन गर्ने अधिकार संघीय सरकारले स्थानीय तहलाई दिनुपर्ने आवाज म्याग्दीमा तीव्ररूपले उठ्ने गरेको छ । यसका लागि कतिपय जनप्रतिनिधिहरू सम्बन्धित मन्त्रालय र खानी तथा पुरातŒव विभागमा डेलिगेशनमा समेत गएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)