ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा सुन आयात : मूल्य अकाशिँदा मात्र ६ करोडको आयात

बिहेको मौसमका कारण दोस्रो त्रैमासमा आयात बढ्ने

Nov 14, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालमा सुनको आयात अत्यधिक मात्रामा घटेको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पहिलो ३ महीनामा सुनको आयात ९९ दशमलव २ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा रू. ७ अर्ब ५६ करोडको सुन आयात भएकोमा चालू आवको सोही अवधिमा रू. ६ करोड ५ लाखको मात्र सुन आयात भएको केन्द्रको तथ्यांकले देखाउँछ ।

नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दा नेपालमा पनि गत असारदेखि नै सुनको मूल्य बढ्दै आएको छ । असारअघि नेपाली बजारमा प्रतितोला रू. ६० हजारको हारहारीमा रहेको सुनको मूल्य त्यसयता रू. ७३ हजार ५०० सम्म पुग्यो । अहिले ७० हजारको हाराहारीमा सुनको कारोबार भइरहेको छ । 

सुनको मूल्य अकाशिँदै जाँदा घरेलु बजारमा सुनको कारोबारमा अत्यन्त कमी आएको थियो । त्यसपछि व्यवसायीहरूले नै बैंकहरूलाई सुन आयात नगर्न सुझाएका थिए । नेपालमा सुन आयात गर्ने अख्तियार वाणिज्य बैंकहरूलाई मात्र छ ।  यसबीचमा असारसम्म बैंकहरूसँग स्टकमा रहेको सुनले नै काम चलाएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनले भने, ‘मूल्य बढेपछि कारोबारमा अत्यधिक मात्रामा ह्रास आयो, त्यसपछि हामीले नै बैंकहरूलाई सुन आयात नगर्न सुझाव दिएका थियौं, त्यसैले यसको आयात घटेको हो ।’ असार मसान्तसम्म बैंकहरूसँग ७४५ केजी सुन स्टकमा थियो ।

व्यवसायीहरूका अनुसार मूल्य बढे पनि तिहारको समयमा भने सुनको कारोबारमा तेजी आयो । साथै, विवाहको मौसम (मङ्सिर–माघ महीना) पनि नजिकिँदै गएपछि अहिले सुनको कारोबार बढ्दै गएको शाक्य बताउँछन् । उनले भने, ‘अहिले सन्तोषजनक व्यापार भइरहेको छ, सरकारले भन्सारदर बढाए पनि त्यसले ठूलो असर गर्दैन ।’

सुन बढी विक्री हुने समयलाई दृष्टिगत गर्दै नेपाल बैंकर्र्स संघले हालै (कात्तिकमा) रू. २ अर्ब ४० करोड बराबरको ४०० केजी सुन आयात गरेको बताएको छ । 

त्यसमध्ये १७० केजी सुन व्यवसायीहरूले किनिसकेको संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनले भने, ‘अहिले व्यवसायीहरूबाट सुनको माग बढ्दै आएको छ । 

हामीसँग स्टकमा रहेको सुन सकिएपछि सो बराबरको सुन आयात गरिएको हो ।’ उनका अनुसार सामान्य अवस्थामा बैंकहरूले मासिक ६०० केजीसम्म सुन आयात गर्दै आएका थिए ।

साथै, अब सुन आयात गर्ने विषयमा भने कुनै योजना नभएको उनको भनाइ छ । उनले भने, ‘अभै पनि हामीसँग २३० केजी सुन स्टकमा छ । व्यवसायीहरूले माग गरेको अवस्थामा भने सुन आयात गर्न सक्छौं । तर, कहिले कति सुन आयात गर्ने भनेर योजना बनाएका छैनौं ।’

पछिल्लो २ आर्थिक वर्षको तथ्यांकलाई हेर्दा नेपालमा वार्षिक रू. ३० अर्बभन्दा बढीको सुन आयात हुन्छ । तर, यो वर्ष भने सुनको आयात कम हुने देखिन्छ । बैंकहरूले गत आवमा रू. ३४ अर्ब ६३ करोड ७७ लाख र अघिल्लो आव २०७४/७५ मा रू. ३१ अर्ब ९७ करोड ८० लाख बराबरको सुन आयात गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)