ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे : दक्षिणतर्फको २ महीनाभित्रै सञ्चालनमा

दुईओटाको लागत रू. १ अर्ब ६ करोड

Nov 14, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । त्रिभुवन विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महीनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रू. १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईओटा ‘पार्किङ वे’ निर्माण गरिरहेको छ । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ । 

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महीनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ । दक्षिणतर्पmको पार्किङ वे असोज महीनाअघि नै तयार गर्ने भनिए पनि सामग्री आपूर्ति लगायत समस्याले केही ढिला हुन गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

अन्तरराष्ट्रिय टर्मिनलमा नौओटा विमान मात्र पार्किङ गर्न मिल्ने क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको संख्या ११ पुगेको छ । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन तथा विमानस्थलमा आइपर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक राजन पोखरेलले बताए ।

‘अहिले विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ । यसले त्यो समस्या समाधानमा सहयोग गर्नेछ । यस्तै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न पनि यसको उपयोग हुनेछ,’ उनले भने । उत्तरपूर्वको रिमोट पार्किङ वेमा नेपाल वायुसेवा निगमको बोइङ ७५७ पार्किङ गरिएको छ । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका ३ ओटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ ।

दक्षिणतर्फको पार्किङ वेको काम छिटो सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको र आइपरेको समस्या समाधानमा विमानस्थल कार्यालयले सहयोग गरिरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । दोस्रो पार्किङ वे निर्माण भएसँगै विमानस्थलको चाप व्यवस्थापनमा सहज हुने उनले बताए । उनका अनुसार एकमात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा अहिले त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ । दक्षिणतर्फको पार्किङ वे पनि सम्पन्न हुँदा केही सजिलो हुने र अन्तरराष्ट्रिय स्तरबाट हुने चार्टर उडानका लागि पार्किङ दिन नसकिरहेको अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।

उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा रू. ४७ करोड खर्च भएको छ भने दक्षिणतर्फको ‘पार्किङ वे’ निर्माणमा रू. ५९ करोड खर्च हुने महाप्रबन्धक केसीले जानकारी दिए । उत्तरपूर्वतर्फ दुईओटा ठूला (वाइडबडी एयरबस) जहाज र तीनओटासम्म साना (एटीआर) जहाज पार्किङ गर्न सकिने छ । यस्तै दक्षिणतिर निर्माणाधीन पार्किङ वेमा दुईओटा वाइडबडी र तीनओटा साना (एटीआर) जहाज राख्न सकिने उनले बताए । अहिले  विमानस्थलमा ठूला जहाज राख्न पर्याप्त पार्किङ वे छैन ।

के हो रिमोट पार्किङ वे ?
‘रिमोट पार्किङ वे’ विमानस्थलको मुख्य पार्किङ वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ वे हो । विमानमा बम विस्फोट वा आतङ्ककारी गतिविधिको शङ्का भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गर्ने गरिन्छ । अन्तरराष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ । विमानस्थलमा भौतिक तथा मानवीय क्षति नपुगोस् भन्नाका लागि यसको प्रयोग गरिन्छ । यस्तै लामो समय होल्डिङमा बस्ने विमानलाई समेत यसमा लगेर पार्किङ गरिन्छ । यसबाट नियमित उडान गर्ने अन्य विमानलाई अवरोध पुग्दैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ वे निर्माण गरिएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ ओटा वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । यस्तै आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)