कात्तिक २८, धनगढी । भारतका विभिन्न शहरबाट कैलाली भन्सार हुँदै नेपाल आयात हुने सामग्रीमा कमि आएको पाइएको छ । चालू आवको तीन महीनामा अघिल्लो आवको सोही अवधिको तुलनामा रू. ४४ करोड बराबरको आयात घटेको हो ।
कैलाली भन्सार कार्यालय धनगढीको तथ्यांक अनुसार चालू आव २०७६/७७ को असोज मसान्तसम्मको ३ महीनामा रू. ४ अर्ब ५२ करोड ८४ लाखको सामग्री आयात भएको छ । गत आव २०७५/७६ को असोज मसान्तसम्म भने रू. ४ अर्ब ९६ करोड मूल्य बराबरका विभिन्न सामग्रीहरु आयात भएको थियो । गत जेठदेखि यो नाकाबाट तरकारी तथा फलफूल भित्र्याउन प्रतिबन्ध लगाइएपछि आयातमा कमि देखिएको कैलालीका भन्सार अधिकृत एवम् सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए । जेठभन्दा अघि यो नाकाबाट रू. ४७ करोड बराबरको तरकारी तथा रू. ३० करोड बराबरको फलफूल आयात भएकोमा अहिले दुबै वस्तुको आयात ठप्प छ ।
कैलाली भन्सारबाट कुल आयातको तुलनामा निर्यातको अंश भने ३ दशमलव ७४ प्रतिशत मात्र रहेको छ । ‘गत आवमा रू. २१ अर्ब बराबरको सामग्री आयात हुँदा निर्यात भने रू. ७८ करोड ७२ लाख मात्र थियो,’ भन्सार अधिकृत उप्रेतीले भने । आव २०७५/७६ मा रू. २ अर्ब २८ करोडको चामल, गहुँ र मकै आयात भएको कार्यालयको तथ्यांक छ । सो अवधिमा ६४० मेट्रिकटन चामल, गहुँ र मकै आयात भएको थियो । कुल आयातको ४८ प्रतिशत अंश पेट्रोलियम पदार्थ रहेको कार्यालयको भनाइ छ ।
भन्सार विभागले चालू आवका लागि करीब रू. ६ अर्ब राजस्व संकलनको सीमा तोकेपनि तरकारी तथा फलफूलको आयात प्रतिबन्धले उक्त लक्ष्यमा पुग्न सहज नदेखिएको अधिकृत उप्रेतीले बताए । गत आवमा यो नाकाबाट चिनी आयात रोकिएपनि चालू आवका लागि ४० प्रतिशत भन्सार महसुलमा चिनी आयात हुँदै आएकाले राजस्वमा थोरै वृद्धि हुने देखिएपनि समग्रमा लक्ष्यमा पुग्न नसकिने कार्यालयको भनाइ छ । कैलालीमा तरकारी तथा फलफूलका जाँचका लागि क्वारेन्टाइन नभएकाले भारतबाट आएका तरकारी तथा फलफूल नेपालगञ्ज हुँदै सुदूरपश्चिमका विभिन्न बजार तथा ग्रामीण क्षेत्रमा पुग्ने गरेको छ ।