धनगढी । कैलाली भन्सार हुँदै भारत लगायत देशबाट हुने सामग्रीको आयातमा कमी आएको छ । चालू आवको ३ महीनामा अघिल्लो आवको सोही अवधिको तुलनामा विभिन्न सामग्रीको आयात रू. ४४ करोडले घटेको कैलाली भन्सार कार्यालय, धनगढीको तथ्यांकले देखाएको हो । गत आव २०७५/७५ को असोज मसान्तसम्ममा यो भन्सारबाट रू. ४ अर्ब ९६ करोड मूल्य बराबरको सामग्री आयात भएकोमा चालू आवको ३ महीना अवधिमा रू. ४ अर्ब ५२ करोड ८४ लाख बराबरको मात्र आयात भएको कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले जानकारी दिए ।
गत आवको जेठदेखि यो नाकाबाट तरकारी तथा फलपूmल आयातमा प्रतिबन्ध लगाइएपछि समग्र आयातमा कमी आएको भन्सार कार्यालयले बताएको छ । गत आवको जेठअघि यो नाकाबाट ४७ करोड मूल्य बराबरको तरकारी तथा ३० करोड मूल्य बराबरको फलफूल आयात भएको थियो । ‘दुवै वस्तुको आयात ठप्प हुँदा आयात घटेको देखिएको हो,’ उप्रेतीले भने ।
गत आवमा कैलाली भन्सारबाट रू. २१ अर्ब बराबरको सामग्री आयात हुँदा निर्यात भने रू. ७८ करोड ७२ लाखको मात्र थियो । सो अवधिमा रू. २ अर्ब २८ करोड बराबरको ६४० मेट्रिकटन चामल, गहुँ तथा मकै आयात भएको कार्यालयको तथ्यांक छ । यस्तै कुल आयातको ४८ प्रतिशत अंश पेट्रोलियम पदार्थ रहेको कार्यालयले बताएको छ ।
भन्सार विभागले चालू आवका लागि करीब ६ अर्ब रुपैयाँ राजस्व संकलनको सीमा तोकेको छ । तर तरकारी तथा फलफूलको आयात प्रतिबन्धले उक्त लक्ष्य हासिल गर्न सहज नदेखिएको भन्सार अधिकृत समेत रहेका उप्रेतीले बताए । गत आवमा यो नाकाबाट चिनी आयात रोकिए पनि चालू आवका लागि ४० रप्रतिशत भन्सार महशुलमा आयात हुँदै आएको छ । ‘यसले राजस्वमा थोरै वृद्धि हुने देखिए पनि समग्रमा लक्ष्य पूरा गर्न चुनौती छ,’ उनले भने । भारतीय तरकारी तथा फलफूल जाँचका लागि कैलाली भन्सारमा क्वारेन्टाइन नभएकाले नेपालगञ्ज नाका हुँदै आयात हुने गरेको छ । सो नाकाबाट आयातित कृषिवस्तु सुदूरपश्चिमका विभिन्न क्षेत्रसम्म आपूर्ति हुँदै आएको छ ।