ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैंकहरूको नाफा पहिलो त्रैमासमा ६.२५% वृद्धि

Nov 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा ६ दशमलव २५ प्रतिशतले बढेको छ । नेपालका २८ वाणिज्य बैंकको पहिलो तीन महीनाको नाफा रू. १६ अर्ब १७ करोड ६० लाख रह्यो जुन गत आवको सोही अवधिमा रू. १५ अर्ब २२ करोड ३६ लाख थियो । 

नाफा कमाउने मामिलामा पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनआईसी एशिया अन्यभन्दा अगाडि रहे । बैंकहरूको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार यी तीन बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा बढी छ । यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले रू. १ अर्ब १२ करोड ७५ लाख नाफा कमाएको छ भने नबिलको नाफा रू. १ अर्ब १२ करोड ३५ लाख पुगेको छ । तेस्रो स्थानमा रहेको एनआईसी एशियाले भने रू. १ अर्ब ९६ लाख नाफा कमाएको छ, यो गत आवको भन्दा ३४ दशमलव १३ प्रतिशतले बढी हो । 

बैंकहरू बढी महत्वाकांक्षी भएर प्रतिस्पर्धा गर्दा आम्दानी बढ्न नसकेको र त्यसका कारण नाफा सन्तोषजनक नभएको बैंकरहरू बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पहिलो त्रैमासमा बैंकको नाफाको वृद्धिदर सन्तोषजनक नभएको बताए । ‘बैंकहरूले जथाभावी शाखा विस्तार गर्दा सञ्चालन खर्च बढेको छ । तर, त्यो अनुसारको व्यवसाय बढ्न भनेको छैन । साथै, बढी प्रतिस्पर्धाका कारण ब्याजदर पनि घटाउनुपर्ने बाध्यता छ,’ उनले भने । 

आठ बैंकको नाफा घट्यो 
समग्रमा बैंकहरूको नाफामा वृद्धि देखिएता पनि समीक्षा अवधिमा केही बैंकको नाफा भने घटेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाण्डू, सिटिजन बैंक इन्टरनेशनल, एनसीसी बैंक, सिभिल बैंक र नेपाल बैंकको नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा घटेको छ । 

गत आवको पहिलो त्रैमासमा रू. १ अर्ब ५ करोड नाफा कमाएको नेपाल इन्भेष्टमेन्ट बैंकले अहिले रू. ८४ करोड ४४ लाख मात्र नाफा गरेको छ । त्यस्तै, नेपाल बैंकको नाफा ३६ दशमलव ३३ प्रतिशतले घटेर रू. ५८ करोड १८ लाखमा झरेको छ । गत आवको पहिलो तीन महीनामा रू. ४४ करोड ८८ लाख नाफा कमाएको सिटिजन इन्टरनेशनल बैंकको नाफा यस आवको सोही अवधिमा रू. ३४ करोड ९१ लाखमा सीमित भएको छ । 

त्यसैगरी, नेपाल एसबीआईको नाफा १० प्रतिशतले घटी रू. ४३ करोड ७२ लाख रहेको छ । चालू आवको पहिलो त्रैमासमा एनसीसी बैंकको नाफा २० दशमलव ६१ प्रतिशतले घटेर रू. ३४ करोडमा खुम्चिएको छ । त्यस्तै, सिभिल बैंकको नाफा पनि १४ दशमलव १० प्रतिशतले घटेर रू. १५ करोड ८९ लाखमा खुम्चिएको छ । गत आवको समीक्षा अवधिमा सिभिल बैंकले रू. १८ करोड ५० लाख नाफा कमाएको थियो । यसैगरी सिद्धार्थ बैंकको शून्य दशमलव ६९ प्रतिशत र बैंक अफ काठमाण्डूको शून्य दशमलव ८ प्रतिशतले नाफा घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)