ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंक र सीडीसीबीच सम्झौता पुसको दोस्रो सातापछि

हबीब बैंकको संस्थापक शेयर विक्री

Nov 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबीब बैंकको २० प्रतिशत संस्थापक शेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रूप (सीडीसी) लाई हिमालयन बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभापछि विक्री सम्पन्न हुने भएको छ । 

पुसको दोस्रो सातातिर हुने साधारण सभापछि शेयर किनबेचको सम्झौता हुनेबारेमा हिमालयन बैंक, हबीब र सीडीसी सहमत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । 

बैंकले २२ प्रतिशत लाभांश प्रस्तावसहित पुसको मध्यतिर साधारण सभा गर्नेगरी केन्द्रीय बैंकलाई अनुमोदनका लागि प्रतिवेदन पठाइसकेको छ । प्रस्तावित लाभांश वितरणपछि हिमालयन बैंकको शेयर पूँजी रू. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ (१८ करोड कित्ता) पुग्ने छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवारसम्म भएको कारोबारअनुसार बैंकको संस्थापक प्रति शेयर मूल्य ४०४ रुपैयाँ रहे पनि हबीबको शेयर २८० रुपैयाँमा खरीदविक्रीको सहमति भएको छ । सीईओ राणाका अनुसार अहिलेसम्म सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) को काम करीब ८० प्रतिशत सकिइसकेको छ ।

‘हबीबको १ करोड ७० लाख ४० हजार ५११ कित्ता शेयर २८० रुपैयाँको दरले विक्री गर्दा लाभांश वितरणपछि रू. ५ अर्बको हाराहारीमा पुग्छ,’ उनले भने, ‘तर हबीब बैंकले विक्रीबाट आएको रकममध्ये ४ अर्ब रुपैयाँमात्र फिर्ता लैजान पाउने छ ।’ कुल विक्री शेयरको २५ प्रतिशतले हुनआउने रू. १ अर्ब पूँजीगत लाभकर तिर्नुपर्ने पनि उनले बताए ।

सीडीसीले हबीबको शेयर किन्न ६ महीना अघिदेखि चासो देखाएको थियो । हबीबले शेयर विक्रीको निर्णय गरेपछि हिमालयन बैंकका संस्थापक शेयरधनीहरूलाई किन्न प्रस्ताव गरेको थियो । कानूनी रूपमा संस्थापक शेयर खरीद गर्ने पहिलो अधिकार संस्थाका अन्य शेयरधनीहरूलाई मात्र हुने भएकाले गत चैत अन्तिम साता (मे ३) मा हबीबले त्यस्तो प्रस्ताव राखेको हो । 

तर संस्थापक शेयरधनीले ४५ दिनभित्र शेयर नकिन्ने जवाफ दिएपछि हबीबले सीडीसीसँग सहमति गरेको थियो । हबीबमा सीडीसीको ५ प्रतिशत शेयर रहेको छ । दुई संस्थाबीच हिमालयन बैंकको संस्थापक शेयरबारे पहिलेदेखि नै छलफल भने भैरहेको उनको भनाइ छ ।  

नेपाल–पाकिस्तानबीच व्यापार नभएको र नेपालमा पाकिस्तानी समुदाय नरहेकोले हबीब बैंकले हिमालयन बैंकमा रहेको आप्mनो शेयर विक्री गर्न चाहेको सीईओ राणाको भनाइ छ । हिमालयन बैंकमा रहेको संस्थापक शेयरबाट हबीबले प्रतिफल पाइरहे पनि उसको रणनीतिअनुसारको योजना सफल हुन नसकेपछि शेयर विक्री गर्न चाहेको उनले बताए । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बैंकको स्वामित्व किन्ने विदेशी कम्पनीको सम्पूर्ण यथार्थ परीक्षण (फिक्स एण्ड प्रोपर टेष्ट) गरेपछि नीतिगत रूपमा सही ठहरिएमा अनुमति दिने बताउँछन् । नेपालमा विदेशी बैंकले ८५ प्रतिशतसम्म संस्थापक शेयर किन्न पाउने नीतिगत व्यवस्था छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक यसको उदाहरण हो ।

करीब ४ वर्षअघि एकपटक हिमालयन बैंकको ६ हजार ६५२ कित्ता बराबरको संस्थापक शेयर विक्री भएको थियो ।  २०७२ असार १० गते भएको उक्त शेयर विक्री प्रतिकित्ता रू. ४२५ का दरले २८ लाख २७ हजार १०० रुपैयाँमा भएको राणाले जानकारी दिए । 

पछिल्लो समय सीडीसीले नेपालमा लगानी भित्र्याउन सक्रिय भएको छ । यसअघि सीडीसीले एनएमबी बैंकलाई १ करोड ५० लाख डलर ऋण दिएको थियो । त्यसयता सीडीसीले जलविद्युत् आयोजनामा ऋण लगानी तथा इन्टरनेट सेवा प्रदायकमा शेयर लगानी गरेको छ ।

२१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा रू. २.५० अर्ब ऋण लगानी गरेको सीडीसीले  इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनको १० प्रतिशत शेयर रू. १ अर्ब ३५ करोडमा किनेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)