मंसिर २, पर्वत । पर्वतका कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका खेतीयोग्य जमीन समेटेर धान जोन बनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत जिल्लामा धान जोन स्थापना गरिएको हो ।
दुवै स्थानीय तहका एउटै कोरिडोरमा पर्ने क्षेत्र समेटेर धान जोन बनाइएको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । यहाँ धान जोन सञ्चालन समिति गठन भइसकेको छ । वडास्तरीय समिति बनाएर कृषकलाई तालीम दिन थालिएको छ । धान जोन कार्यालयले परम्परागत धान खेती प्रणाली, बीउको छनोट र सिँचाइ लगायतमा परिवर्तन गरी आधुनिक खेती प्रणाली अपनाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्वतको कुश्मामा धान जोनको कार्यालय स्थापना भसकेको छ । कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतसहित प्राविधिक कर्मचारी खटिएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमीनमध्ये ९ हजार ७० हेक्टरमा बर्खे र २ हजार हेक्टरमा चैते धानको खेती हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले फलेवास नगरपालिका १० कुर्घामा धान ब्लक घोषणा गरी रैथाने धानबाली संरक्षण कार्यक्रम गत वर्षदेखि सञ्चालन हुँदै आएको जानकारी दिए । एउटै कोरिडोरमा धेरै क्षेत्र समेट्न नसकिने भएपछि एउटा मात्रै वडामा ब्लक क्षेत्र बनेको उनको भनाइ छ । उनका अनुसार पैयुँ गाउँपालिका–४, हुवासमा पनि यस वर्ष धान ब्लक बनाउने तयारी छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत फलेवास, विहादी र महाशिला गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइसकेको छ । सुन्तला, तरकारी, अलैंचीको ब्लक र पकेट क्षेत्र पनि विस्तार भइसकेका छन् ।