ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धबाबा सुरुङमार्गको लागत रू. १० अर्ब १५ करोड

अर्थको सहमतिपछि २ महीनाभित्रै टेण्डर आह्वान गर्दै सडक विभाग

Nov 19, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । लामो समयदेखि योजनामा मात्रै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणको काम अब शुरू हुने भएको छ । अर्थ मन्त्रालयले सोमवार रू. १० अर्ब १५ करोडको सीमाभित्र रहेर उक्त सुरुङमार्ग निर्माणको खरीद प्रक्रिया अघि बढाउन सहमति दिएसँगै यो सुरुङमार्ग निर्माणको बाटो खुलेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सुरुङमार्ग निर्माण गर्न उक्त लगानी आवश्यक हुने भन्दै गत असोज १५ गते अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताका लागि अनुरोध गरेको थियो । सोहीअनुसार अर्थले सोमवार सोही बजेटको सीमाभित्र रहेर उक्त सुरुङमार्ग निर्माणको खरीद प्रक्रिया अघि बढाउन सहमति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ । सुरुङमार्ग निर्माणका लागि ‘डिजाइन एण्ड विल्ड मोडालिटी’ अपनाइने भएको छ । 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले अर्थको सहमतिसँगै सुरुङमार्ग निर्माणका लागि प्रक्रिया शुरू गरिने जानकारी दिए । उनले भने, ‘स्रोत सुनिश्चित भएकोले अब २ महीनाभित्र सुरुङमार्ग निर्माणका लागि टेण्डर आह्वान गर्ने गरी आवश्यक कार्य शुरू गर्छाैं ।’ उनले मन्त्रालय तथा विभागले यो सुरुङमार्ग निर्माणको योजना चालू आर्थिक वर्षमा समेत राखेको बताए ।

उक्त सुरुङमार्ग निर्माणका लागि गत साउनमा नेपाल र स्वीस कम्पनीले संयुक्त रूपमा अध्ययन गरी मन्त्रालयलाई प्रारम्भिक डिजाइनसहितको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाएको थियो । सोही डीपीआरलाई आधार मानेर भौतिक पूर्वाधार मन्त्रालयले अर्थसँग स्रोतको सुनिश्चितता माग गरेको थियो । उक्त डीपीआरअनुसार सडकसहितको कुल ३ किलोमिटर (किमी) सुरुङमार्ग बन्ने भएको छ । सुरुङमार्गको लम्बाइ १ दशमलव १२६ किमी रहेको छ । 

कमजोर भौगर्भिक भू–बनोटका कारण बर्षेनि पहिरो जाँदा सो मार्गमा जनधनको क्षतिका साथै यातायात पनि असहज हुँदै आएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा बन्ने भनिएको सुरुङमार्ग अन्य सुरुङमार्गको प्रयोजनभन्दा फरक रहेको छ । विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिवप्रसाद नेपालले त्यहाँ सडकको लम्बाइ घटाउनभन्दा पनि बर्षेनि हुने जनधनको क्षति रोक्नका लागि सुरुङमार्ग बनाउने योजना अघि बढेको जानकारी दिए । उनले भने, ‘खासगरी सुरुङमार्ग ट्राफिक जाम, सडकको दूरी घटाउने प्रयोजनका लागि बनाइन्छन्, तर यो क्षेत्रमा भने जनधनको क्षतिलाई रोक्नका लागि बनाइने हो ।’

उक्त सडकको सिद्धबाबा खण्डमा पर्ने करीब ४ देखि ५ किलोमिटर (किमी) क्षेत्रमा जाने पहिरोका कारण प्रत्येक वर्ष जनधनको क्षति हुँदै आएको छ । त्यसको समाधानका लागि उक्त सुरुङमार्ग निर्माण गर्न वर्षौंदेखि त्यस क्षेत्रबाट माग हुँदै आएको थियो । अर्थले भौतिक पूर्वाधार मन्त्रालयलाई लेखेको सहमतिपत्रमा सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय ठेक्का मापदण्ड–२०७६ अनुसार प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख छ । सोही मापदण्डअनुसारको प्रक्रियाबाट डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कामका लागि वार्षिक रूपमा आवश्यक बजेट माग गर्नसमेत अर्थले आग्रह गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)