धनगढी । स्वास्थ्य बीमा कार्यक्रमबाट कैलालीसहित सुदूरपश्चिमका सात जिल्लाका २ लाख ३२ हजारले स्वास्थ्य बीमा गरेको पाइएको छ । कार्यक्रम शुरू भएको साढे ३ वर्ष अवधिमा प्रदेशमा कुल जनसंख्याको ९ प्रतिशतले स्वास्थ्य बीमा गरेको देखिएको छ । २०७२ चैत २५ गतेदेखि सरकारले कैलालीबाट शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेशका ७ जिल्लामा पुगेको छ भने बाँकी दुई जिल्लामा पनि सञ्चालनको तयारी भइरहेको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य बीमा कार्यक्रम संयोजक जनकबहादुर साउदले बताए ।
उक्त कार्यक्रम मार्फत कैलालीमा सबैभन्दा बढी १ लाख ३० हजार ४२७ र दार्चुलामा सबैभन्दा कम ४ हजार ८६५ ले स्वास्थ्य बीमा गराएका छन् । त्यस्तै बझाङमा २८ हजार ७९, बाजुरामा २६ हजार ३१३, अछाममा २४ हजार ४७३, बैतडीमा १० हजार ९४३ र कञ्चनपुरमा ६ हजार ९५ जनाले स्वास्थ्य बीमा गराएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य बीमा कार्यक्रम संयोजक साउदले जानकारी दिए । डोटी र डँडेलधुरामा पनि छिट्टै यो कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
‘कार्यक्रम सञ्चालनका लागि डँडेलधुरा र डोटीमा दर्ता सहयोगी छनोट गर्ने काम भइरहेको छ,’ साउदले भने, ‘प्रत्येक वडामा एक जना दर्ता संयोजक राखिनेछ ।’ अहिले यी दुई जिल्लाका सम्बन्धित स्थानीय निकायसँग पनि कार्यक्रम सञ्चालनका लागि समन्वयको काम भइरहेको उनले बताए । उक्त कार्यक्रमको प्रभावकारिताबारे गुनासो समेत आएको छ । कार्यक्रमबाट लक्षित वर्गले अपेक्षित लाभ लिन नसकेको सरोकारवालाहरूले बताएका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन प्रचारप्रसार तथा अनुगमनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी नरेन्द्रप्रसाद भट्टले सुझाए ।