ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड : समर्थन मूल्य तोकिएको १ महीनापछि धान खरीद शुरू

Nov 19, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । सरकारले धानको समर्थन मूल्य तोकेको करीब १ महीनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरीद शुरू गरेको छ । कम्पनीका महेन्द्रनगर शाखा प्रमुख जयराज जोशीले आइतवारदेखि यस क्षेत्रका किसानको धान किन्न थालिएको बताए । गत कात्तिक ५ मा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको थियो ।

सरकारले मोटा धानको प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा समर्थन मूल्य तोकेको छ । जोशीका अनुसार सरकारले तोकेको समर्थन मूल्यमा मोटा धान खरीदका लागि कम्पनीले डिपो सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको प्राथमिक खरीद समितिको निर्णय अनुसार उक्त डिपो सञ्चालनमा ल्याइएको उनले बताए ।

धान खरीद डिपो ढिलो सञ्चालनमा आएकोमा किसानले गुनासो गरेका छन् । कम्पनीले हाल खरीद डिपो सञ्चालनमा ल्याए पनि यस क्षेत्रका अधिकांश किसानले यसअघि नै व्यापारीलाई धान विक्री गरिसकेका छन् । साहुको ऋण तिर्न, दैनिक खर्च धान्न तथा अन्न भण्डारको अभावले किसानले खेतबाटै धान बेच्ने गरेका छन् ।

सरकारले समर्थन मूल्य तोके पनि उक्त मूल्यमा धान खरीदका लागि निर्देशन नआउँदा डिपो सञ्चालनमा ढिलाइ भएको जोशीले बताए । कम्पनीको महेन्द्रनगर शाखाले गतवर्ष १० हजार क्विन्टल धान खरीद गरेको थियो । यस वर्ष भने ७ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेको छ । गतवर्ष लक्ष्यभन्दा निकै कम धान संकलन भएपछि यस वर्ष धान खरीदको लक्ष्य घटाइएको कम्पनीले बताएको छ ।

कम्पनीले महेन्द्रनगर शाखा कार्यालयमा डिपो सञ्चालन गरे पनि कञ्चनपुरको दक्षिणी क्षेत्रबाट धान खरीद गर्न कुनै पहल गरेको छैन । जनशक्ति अभावले जिल्लाका सबै क्षेत्रमा पुग्न नसकिएको शाखा प्रमुख जोशीले बताए । ३८ हजार हेक्टरमा धानबाली लगाइएको कञ्चनपुरमा प्रतिहेक्टर ३ मेट्रिकटन उत्पादन हुने आकलन गरिएको कृषि ज्ञानकेन्द्र, कञ्चनपुरले बताएको छ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरिसक्दा समेत धान खरीद नगर्दा किसान मर्कामा परेको बेहोराको समाचार केही दिनअघि मात्रै आर्थिक अभियान दैनिकले प्रकाशित गरेको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)