ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजगढ अन्तरराष्ट्रिय विमानस्थल : आशयपत्र जारी हुन समय लाग्ने 

Nov 19, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरभित्रै गर्ने बताइरहँदा निर्माणको प्रक्रिया अगाडि बढाउन आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने काम अझै हुन सकेको छैन । सरकारले असोजको पहिलो साता निजगढ विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिख इन्टरनेशनल एयरपोर्ट (एजी) लाई संक्षिप्त सूची (सर्ट लिष्ट) मा राखेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असोज ६ गते बसेको लगानी बोर्डको ४०औं बोर्ड बैठकले तोकिएको मापदण्ड पुगेका आधारमा ज्युरिख एयरपोर्टलाई छनोट गरी प्राविधिक तथा वित्तीय प्रस्ताव माग्ने बताएको थियो । 

साथै, लगानी बोर्डले २ महीनाभित्रै विमानस्थल निर्माणका लागि आशयपत्र (रिक्वेस्ट फर प्रपोजल) जारी गर्ने तथा सो  आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिखले बोर्डसमक्ष आफ्नो विस्तृत प्रस्ताव बोर्डसमक्ष पेश गर्नुपर्ने बताएको थियो । 

तर दुई महीना बित्न एक साता बाँकी रहँदा पनि आशयपत्र कहिले जारी हुने टुंगो लागेको छैन । लगानी बोर्ड स्रोतका अनुसार आशयपत्र जारी हुन अझै दुईदेखि तीन साता लाग्नेछ । ‘आशयपत्र तयार पार्न गठित प्राविधिक टोली प्रारम्भिक ड्राफ्टलाई परिमार्जन गर्ने क्रममा रहेको छ,’ बोर्ड स्रोतले बतायो । 

आशयपत्रलाई अन्तिम रूप दिनका लागि निजगढ विमानस्थलको ‘माष्टर प्लान’ आवश्यक रहेको तर पर्यटन मन्त्रालयले यसबारेमा सक्रियता नदेखाउँदा ढिलाइ भएको दलील बोर्डको छ । तर बोर्डको दाबी विपरीत पर्यटन मन्त्रालय भने यस विषयमा आपूmहरूलाई लगानी बोर्डले केही नभनेको र आरएफपीको लागि मास्टर प्लान आवश्यक शर्त नभएको बताउँछ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले  मन्त्रालयले मास्टर प्लान नदिएकै कारण आशयपत्र जारी नहुने भन्ने नहुने बताए । ‘यस विषयमा बोर्डले मन्त्रालयलाई केही भनेजस्तो लाग्दैन । मन्त्रालय तहबाट हुनुपर्ने अन्य काममा भने मन्त्रालय लागिरहेको छ,’ उनले भने ।

सचिव अधिकारीका अनुसार मन्त्रालयले विमानस्थलको टाँगिया बस्ती स्थानान्तरण तथा मुआब्जा वितरण एवं रूख कटानको विषयमा भने एकीकृत ढंगले समाधान गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ । पर्यटन मन्त्री योगेश भट्टराईले पनि आइतवार चितवनमा विमानस्थल निर्माण सहज बनाउन एकीकृत प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका थिए । 

बोर्डले आशयपत्र जारी गरेपछि ज्युरिखको विस्तृत प्रस्ताव आउने र सरकारलाई चित्तबुझेमा मात्र उसलाई निजगढ निर्माणको जिम्मा दिइनेछ । लगानी बोर्डले निजगढ विमानस्थलका बारेमा असोजमा गरेको निर्णय प्रारम्भिक चरणको हो । यदि सबै प्रक्रिया पूरा गरी निजगढ विमानस्थल निर्माणको जिम्मा ज्युरिखले पाएमा पीपीपी मोडलमा पूर्वाधार निर्माणको काम पाउने पहिलो कम्पनी हुनेछ ।

ज्युरिख एयरपोर्ट एजी विमानस्थल सञ्चालन र व्यवस्थापन गर्ने कम्पनी हो । सरकारी लगानीको यो कम्पनीले ज्युरिखकै विमानस्थल सञ्चालन गरिरहेको छ भने छिमेकी भारतको बैंगलोर अन्तरराष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन पनि गरेको छ । सरकारले गत चैतको दोस्रो साता आयोजना गरेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा यो विमानस्थल निर्माणको प्रस्ताव पेश गर्न आह्वान गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)