ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हालसम्मकै ठूलो आईपीओ ल्याउँदै इन्फ्रास्ट्रक्चर बैंक

चालू आवमै जारी गर्ने बैंकको लक्ष्य 

Nov 20, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाली धितोपत्र बजारमा अहिलेसम्मकै ठूलो सर्वसाधारण शेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । बैंकले आफ्नो जारी पूँजीको ४० प्रतिशत अर्थात् रू. ८ अर्ब मूल्यको ८ करोड कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ, जुन नेपाली धितोपत्र बजारमा सबैभन्दा ठूलो हुनेछ ।

हालसम्मको सर्वाधिक आईपीओ अपर तामाकोशीले आयोजना प्रभावित र सर्वसाधारणलाई गरेर साढे २ करोडभन्दा बढी कित्ता जारी गरेको थियो । निफ्राको जारी पूँजी रू. २० अर्ब रहेको छ । हाल बैंकको  चुक्तापूँजी रू. १२ अर्ब रहेको छ, उक्त आईपीओ विक्री भएपछि बैंकको चुक्तापूँजी रू. २० अर्ब पुग्नेछ । 

आगामी मङ्सिर २९ गते काठमाडौंमा बैंकको प्रथम वार्षिक साधारणसभा हुँदै छ । बैंकले उक्त साधारणसभामा विशेष प्रस्तावका रूपमा आईपीओ निष्कासन गर्ने विषयलाई पेश गर्दै छ । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भूपेन्द्र पाण्डेले साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित भएलगत्तै थप प्रक्रिया अगाडि बढाइने बताए । साधारणसभाबाट पारित भइसकेपछि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिनुपर्ने हुन्छ । यस्तै, रेटिङ एजेन्सीबाट आईपीओको रेटिङ गर्नुुपर्ने, शेयर बिक्री प्रवन्धक नियुक्ति गर्नुपर्नेजस्ता प्रक्रिया पनि पूरा गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र बैंकले आईपीओ निष्कासन गर्न सक्नेछ । 

चालू आर्थिक वर्षभित्र नै आईपीओ निष्कासन गर्ने बैंकको लक्ष्य छ । डीसीईओ पाण्डेले भने, ‘साधारणसभाबाट स्वीकृति पाएलगत्तै हामी आवश्यक तयारीमा जुट्ने छौं । ७÷८ महीनामा नै आईपीओ जारी हुनेछ ।’ 

पछिल्लो समय शेयर बजारमा मन्दी आउँदा ठूलो मात्राको आईपीओ विक्री हुने कि नहुने भन्ने विषयमा शंका नै छ । तर, बैंक भने आईपीओ विक्री हुने विषयमा ढुक्क छ । ‘आईपीओ जारी गर्ने समयसम्म शेयर बजारमा सुधार आउला जस्तो लाग्छ, बैंकिङ क्षेत्रको आईपीओ विक्री नहुने भन्ने पनि हुँदैन,’ बैंकका डीसीईओ पाण्डेले भने, ‘त्यसमाथि लगानीकर्ताले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भविष्य राम्रो देखेका छन् । तसर्थ, हामी आईपीओ शतप्रतिशत विक्री हुनेमा ढुक्क छौं ।’ साथै, आईपीओ विक्री भइसकेपछि बैंकको प्रबन्धपत्रमा संशोधन तथा थप व्यवस्था पनि गरिने उनको भनाइ छ ।

विशेषगरी राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरूमा लगानी गर्ने योजनासहित यो बैंक स्थापना गरिएको हो । पूर्वाधार विकाससम्बन्धी परियोजन सञ्चालन गर्ने, धितोपत्र बजारमा लगानी गर्ने र परियोजना निर्माणमा स्रोत जुटाउने पनि यस बैंकको मुख्य कार्यक्षेत्रअन्तर्गत पर्छ । यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, निजीक्षेत्रको १० प्रतिशत, पब्लिक कम्पनीहरूको ४० प्रतिशत शेयर हिस्सा रहेको छ । सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत शेयर अंशका लागि भने अहिले आईपीओ जारी गर्न लागिएको हो । 

इन्फ्रास्ट्रक्चर बैंकले नयाँ परियोजनामा मात्र लगानी गर्नेछ । नेपाल राष्ट्र बैंकको नीतिअनुसार यस बैंकले न्यूनतम एउटा परियोजनामा रू. ३० करोडको सीमामा लगानी गर्नुपर्ने हुन्छ । हाल यस बैंकले कास्की जिल्लास्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । यसका अलावा बैंकले ४९ मेगावाट उत्पादन क्षमता भएको एक जलविद्युत परियोजनामा पनि डेढ अर्ब रुपैयाँ नै लगानी गर्ने तयारीमा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)