ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रुटिपूर्ण विद्युतीय बस प्रतिस्थापन : साइमेक्सलाई पुनः ६ महीना समय थप

Nov 20, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि चिनियाँ कम्पनी बीवाईडीसँग किनेकोे पाँचओटा विद्युतीय बस साट्न बीवाईडीको नेपाली आपूर्तिकर्ता साइमेक्स प्रालिलाई पुनः ६ महीना म्याद थपेको छ । 

किन्ने सम्झौता अनुसारको विद्युतीय बस उपलब्ध नगराएको तथा अन्य प्राविधिक त्रुटि भएको बताउँदै मन्त्रालयले कम्पनीलाई ती बसको सट्टा नयाँ बस उपलब्ध गराउन गतवर्ष माघमै निर्देशन दिएको थियो । सो निर्देशन अनुसार साइमेक्सले नयाँ बस असोजसम्ममा उपलब्ध गराउनुपर्ने थियो । 

तर, कम्पनी बसमा त्रुटि नभएको र आवश्यक परे प्राविधिक जाँच गराउन तयार रहेको भन्दै नयाँ बस उपलब्ध गराउनबाट पछाडि हटेको थियो । 

नयाँ बस उपलब्ध नगराए बीवाईडीसँगको ठेक्का रद्द गर्ने पत्र मन्त्रालयले पठाएपछि मात्रै कम्पनी नयाँ बस उपलब्ध गराउन सहमत भएको पर्यटन मन्त्रालयका अधिकारीहरूले बताएका छन् । साइमेक्सले नयाँ बस ल्याउने प्रतिबद्धता जनाएपछि पुनः म्याद थपिएको मन्त्रालय अन्तर्गत एडीबी दक्षिण एशिया पर्यटन विकास आयोजनाका संयोजक रुद्रसिंह तामाङले बताए । अब साइमेक्सले मन्त्रालयले तोकेको स्पेशिफिकेशन अनुसारको बस ल्याउनुपर्नेछ । ‘कम्पनीले गाडी फिर्ता लगेर नयाँ दिने भएको छ,’ उनले भने, ‘प्राविधिक समूहले नयाँ गाडीको स्पेशिफिकेशनको अध्ययन गरिरहेको छ ।’

गतवर्ष कात्तिक पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले धुमधामका साथ ती बसको उद्घाटन गर्नुभएको थियो । तर, त्यसयता ती बस सञ्चालनमा आएनन् । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट लुम्बिनीसम्म सञ्चालन गर्न एशियाली विकास बैंकको अनुदानमा यी बस किनिएका थिए । 

एडीबीले ‘सफा लुम्बिनी सार्वजनिक यातायात योजना’का लागि नेपाल सरकारलाई रू. २९ करोड आर्थिक सहयोग गरेको छ । सोहीअन्तर्गत विद्युतीय बस सञ्चालनका लागि रू. ८ करोड ७५ लाखमा पर्यटन मन्त्रालयको मातहतमा पाँचओटा बस किनिएका हुन् । 

बस किन्ने सम्झौतामा ‘सी–६ विद्युतीय मिनीबस’ उल्लेख भए पनि भारतीय बजारका लागि उत्पादन गरिएको ‘के–६ विद्युतीय बस’ नेपालमा ल्याइएको मन्त्रालयले बताएको छ । त्यस्तै, बसको तौल पनि सम्झौता गरिएकोभन्दा कम भएको, मापदण्ड अनुसार सुरक्षित नभएको, फिनिसिङ राम्रो नभएको लगायत १७ ओटा त्रुटि देखाउँदै सरकारले बस स्वीकार गरेको थिएन ।

मन्त्रालयका अनुसार बस अस्वीकृत भए पनि बस सञ्चालनका लागि बनाउन लागिएको चार्जिङ स्टेशन र सोलार प्यानलको काम भने रोकिएको छैन । १३ लाख ८० हजार अमेरिकी डलर लागतमा चार्जिङ स्टेशन र सोलार प्यानल निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले बताएको छ । एडीबीकै अनुदानमा चार्जिङ स्टेशन निर्माणका लागि जापानको इशाखा इलेक्ट्रिक कम्पनीसँग रू. १३ लाख २८ हजार अमेरिकी डलरमा निर्माण सम्झौता भएको थियो ।

नयाँ बस उपलब्ध गराउन कम्पनी तयार भए पनि पुराना बस के गर्ने भन्ने निर्णय भने भइसकेको छैन । मन्त्रालयले ती बस के गर्न सकिन्छ भन्नेबारे कम्पनीलाई प्रस्ताव पत्र पठाउन भनेको छ । ‘नयाँ बस उपलब्ध गराए पुरानो के गर्ने भन्ने मुख्य समस्या हो,’ साइमेक्सका प्रोजेक्ट हेड साहिल श्रेष्ठले बताए, ‘पुराना बस के गर्ने भन्ने विषयमा छलफल हुन बाँकी नै छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)