पर्वत । पर्वतको कुश्माबजारका भित्री सडक विस्तारको काम रोकिएको छ । विद्युत्का पोल र टेलिफोनका तार नहटाउँदा र कामदार अभाव हुँदा सडक विस्तारको काम अगाडि बढाउन नसकिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
गत ४ महीनादेखि सडक विस्तार रोकिएको हो । बजारका भित्री सडक फराकिलो बनाउन एक वर्षअघि काम शुरू भएको थियो । तर, अहिलेसम्म ४० प्रतिशत पनि काम पूरा भएको छैन । बजारक्षेत्रको सडक ८ मिटर चौडा पार्ने योजना छ । रौताह कन्ट्रक्सन मार्फत कुश्माका दीपक पौडेल र दीपक श्रेष्ठले पेटि ठेक्का लिएका हुन् ।
सबै ठाउँमा सडक भत्काएर छाडिएको छ । ठाउँठाउँमा ठूलाठूला खाडल परेका छन् । मुख्य राजमार्ग समेत भत्किएको छ । सदरमुकाममा सबै क्षेत्रमा सडक क्षतविक्षत भएकोमा स्थानीय बासिन्दा आक्रोशित छन् । चाँडो काम सक्न बजारवासीले माग गर्दै आएका छन् । बजारवासीको गुनासोपछि सर्वपक्षीय टोलीले बुधवार सडकको अवस्था र निर्माणको कामबारे अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सडक विस्तार र स्तरोन्नति लामो समयदेखि रोकिएको देखिएपछि सम्बन्धित कार्यालयलाई ७ दिनभित्र विद्युत् पोल हटाउन र निर्माण व्यवसायीलाई ३ दिनभित्र कामको कार्ययोजना पेश गर्न निर्देशन दिइएको अनुगमन टोलीका सदस्य तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।
शहरी विकास आयोजनाको बजेटले सडक विस्तारको काम भइरहेको छ । कार्ययोजना अनुसार काम भए÷नभएको अनुगमन समितिले हेर्ने सहमति भएको छ । पुस महीनाभित्र सबै ढलान र पिच बाहेकको सबै काम सक्ने सहमति भएको छ ।