ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो विप्रेषण, बढ्यो महँगी

विप्रेषण आप्रवाह लगातार दोस्रो महीनामा पनि घट्यो, शोधनान्तर भने निरन्तर सुधार

Nov 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाह लगातार दोस्रो महीना घटेको छ । सामान्यतया चाडपर्व, विशेषगरी दशैंको समयमा उच्चरूपमा विप्रेषण भित्रने गरेकोमा यसपालि त्यसको ठीक विपरीत घट्न पुग्यो । 

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा विप्रेषण करीब ५ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार असोजसम्म रू. २ खर्ब ३० अर्ब २४ करोड विप्रेषण नेपाल भित्रिएको छ, जुन अघिल्लो आवको सोही महीनामा रू. २ खर्ब ४२ अर्ब १७ करोड रहेको थियो । गत भदौमा विप्रेषण आप्रवाह १९ महीनापछि पहिलोपटक घटेको थियो । चाडपर्वका कारण असोजमा विप्रेषण बढ्ने राष्ट्र बैंकको अपेक्षा थियो । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले चालू आवमा विप्रेषण आउने आधार खुम्चिँदा यस्तो अवस्था आएको बताए । ‘गत आवमा आधार बलियो हुँदा विप्रेषण बढेको थियो । तर, अहिले त्यो अनुसारको आधार नबन्दा कम आएको हो ।’

२०७४ फागुनमा भन्सारमा सन्दर्भ मूल्य कायम गरेपछि अनौपचारिक व्यापार नियन्त्रणमा आएको थियो । त्यसपछि हुन्डीजस्ता अनौपचारिक कारोबार पनि निरुत्साहित भए, जसको फलस्वरूप विप्रेषण बढेको भट्टको भनाइ छ । त्यस्तै, अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा सस्तो हुँदा पनि विप्रेषण बढेको उनी बताउँछन् । उनले भने, ‘योसँगै यहाँका बैंकमा निक्षेपको ब्याजदर बढेपछि विदेशमा रहेका नेपालीले होल्ड गरेर राखेको पैसा पठाउन थाले, तर अहिले त्यस्तो अवस्था छैन । डलर पनि सस्तो हुँदै गएपछि विपे्रषण आप्रवाह कम हुँदै गएको छ ।’

विदेश जाने कामदारको संख्या घट्दा पनि विप्रेषणमा नकारात्मक असर परेको उनको भनाइ छ । उनले थपे, ‘मलेशियाको रोजगारी लामो समयसम्म रोकियो । अन्य मुलुकमा जाने कामदारको संख्या पनि घट्दै गएको छ, त्यस्ता कारणले पनि विप्रेषण आप्रवाह घटेको हो । साथै, विश्व अर्थतन्त्रमा पनि मन्दी आउँदाको असर पनि  विपे्रषण आप्रवाहमा देखिएको छ ।’

मुद्रास्फीति बढ्यो
केन्द्रीय बैंकको तथ्यांकले मूल्य वृद्धि निरन्तर उकालो लाग्दै गएको देखाएको छ । चालू आवमा मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि नपु¥याउने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा नै यो ६ दशमलव २१ प्रतिशत पुगेको छ । 

केन्द्रीय बैंकका अनुसार खाद्य तथा पेय पदार्थ वस्तुको मूल्य अधिक मात्रामा बढेको छ । खाद्य तथा पेय पदार्थ मूल्यवृद्धि ७ दशमलव शून्य ४ प्रतिशत र गैरखाद्य वस्तुको मूल्यवृद्धि ५ दशमलव ५५ प्रतिशत पुगेको छ । 

राष्ट्र बैंकले भारतमा मूल्य वृद्धि बढ्दा नेपालमा पनि त्यसको असर परेको बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले भने, ‘अहिले मुद्रास्फीति बढ्नुको कारण भारत नै हो । त्यसैले हामीले चाहेर मात्र यो नियन्त्रण हुने अवस्था छैन ।’

राष्ट्र बैंकका अनुसार काठमाडौंमा सबैभन्दा बढी वस्तुको भाउ बढेको देखिन्छ । काठमाडौं उपत्यकामा ८ दशमलव १४ प्रतिशत, तराईमा ५ दशमलव ७५ प्रतिशत, पहाडमा ४ दशमलव ८९ प्रतिशत र हिमालमा ५ दशमलव ११ प्रतिशत महँगी बढेको छ । 

वैदेशिक व्यापारमा सुधार
मुलुकको आयातमा कमी आउँदा समग्र वैदेशिक व्यापारमा भने केही सुधार देखिएको छ । यस अवधिमा मुलुकको आयात १० दशमलव ३ प्रतिशतले घटेको छ भने निर्यात १४ दशमलव ४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा आयात ४३ दशमलव ६ प्रतिशतले बढेर रू. ३ खर्ब ७३ अर्ब पुगेको थियो । चालू आवमा यो रू. ३३ अर्ब ६४ करोडले घटी रू. ३ खर्ब ३४ अर्बमा रहेको छ । उता, निर्यात रू. २३ अर्ब ७४ करोडबाट बढेर रू. २७ अर्ब १७ करोड पुगेको छ । 

शोधनान्तर स्थिति बचतमा  
वैदेशिक लगानी र वैदेशिक ऋण बढेपछि शोधनान्तर स्थितिमा सुधार आएको छ । चालू आवको शुरूदेखि सुधार भएको शोधनान्तर स्थिति असोजमा पनि कायम रह्यो । देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढेपछि चालू आवको असोजसम्म शोधनान्तर स्थिति रू. १४ अर्ब ४३ करोडले बचतमा छ । ‘अहिले ४ अर्ब रुपैयाँको हाराहारीमा वैदेशिक लगानी आएको छ । सरकारले पनि करीब २५ अर्ब रुपैयाँ वैदशिक ऋण परिचालन गरिरहेको छ । 

त्यसैले शोधनान्तर स्थिति बचतमा छ,’ भट्टले बताए । वैदेशिक भ्रमणमा कडाइ गर्दा पनि शोधनान्तर स्थितिमा सुधार हुँदै गएको उनको भनाइ छ ।

यद्यपि, चालू खाता भने अझै घाटामा नै छ । समीक्षा अवधिमा यस्तो घाटा रू. २७ अर्ब १८ करोड पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो घाटा रू. ८१ अर्ब ७४ करोड थियो, जसअनुसार चालू खाता घाटा पनि सुधारोन्मुख देखिएको छ । 

यस्तै, असोजसम्म राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले रू. १० खर्ब ८७ अर्ब ७३ करोड बराबरको विदेशी मुद्रा सञ्चित गरेका थिए । उक्त सञ्चितिले साढे ८ महीनाको आयात धान्न पुग्ने बताइएको छ । गत असारसम्म उनीहरूसँग रू. १० खर्ब ३८ अर्ब ९२ करोड बराबरको विदेशी मुद्रा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)