ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा सांसदको बजेट बाँडफाँट

Nov 25, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतबाट प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदले पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरेका छन् । उक्त बजेटको मुख्य प्राथमिकतामा सडक निर्माण योजना छन् । सडक निर्माण योजनामा २ लाखदेखि ५० लाख रुपैयाँसम्म विनियोजन भएको पाइएको छ ।

प्रतिनिधिसभाका सांसद पदम गिरी (नेकपाबाट)ले जिल्लाका १० ओटा ग्रामीण सडकको स्तरोन्नतिका लागि रू. ३ करोडभन्दा बढी छुट्ट्याएका छन् । उनले गत वर्षका क्रमागत योजनामा पनि बजेट पारेका छन् । क्रमागत योजना अन्तर्गत पातीचौर–क्याङ सडक, वारीबेनी–माझफाँट–लेकफाँट सडकका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी मिलनचोक–लेकफाँट–शालिजा सडकका लागि २० लाख, होस्राङ्दीदेखि भोक्सिङ हुँदै बाच्छा जोड्ने सडक तथा विहादी गाउँपालिकामा पर्ने उराम गेप्ताङ चिउरीखाल्टा सडकका लागि ५०/५० लाख र हातेमालो चोक धरमपानी पैयूँकोट सडकका लागि २० लाख रुपैयाँ छुट्ट्याइएको छ । 

यसैगरी पाङ धैरेनी मावि–पार्वती गुफा–हिमालय मावि सडक, गँगटे गोतामे थर रापु सडक र लाम्पाटा सिदाली चनौटी कार्कीनेटा सडक स्तरोन्नतिका लागि १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको सांसद गिरीले जानकारी दिए । उनले शिक्षाक्षेत्रका पूर्वाधार निर्माण अन्तर्गत ६ ओटा विद्यालयका लागि पनि बजेट छुट्ट्याएका छन् । यस शीर्षकको कुल ८० लाख ५० हजार रुपैयाँ बजेटमध्ये पर्वत बहुमुखी क्याम्पसको पूर्वाधार बनाउन २० लाख, राम माविको पर्खाल निर्माणका लागि १० लाख, देवीस्थान प्राविमा तारबार लगाउन १० लाख, काफलचौर माविमा सभाहलका लागि १६ लाख २५ हजार, महेन्द्र ज्याति माविको पूर्वाधार बनाउन १४ लाख र पूर्णेश्वर माविको पूर्वाधारका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सामुदायिक सभा गृहहरू निर्माणका लागि सांसद गिरीले १ करोड १२ लाख रुपैयाँ छुट्ट्याएका छन्, जसमध्ये हिम शिखर क्लबको सभागृह बनाउन १० लाख, शहीद स्मृति सभाहल निर्माणका लागि ५० लाख, त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाको तालीम हलका लागि १२ लाख र चिसापानी दुग्ध सहकारीको पूर्वाधार, शिवालय सामुदायिक बहुउद्देश्यीय भवन, गायत्री राधामाधव आश्रम तथा एकला क्लब पूर्वाधार निर्माणका लागि १०÷१० लाख रुपैयाँ विनियोजन गरेका छन् । यसैगरी खेलकुद पूर्वाधारका लागि मोदीकाली कभर्ड हलका लागि २० लाख र कभर्ड हलका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन, संस्कृति शीर्षकमा ३५ लाख र पर्वत अस्पतालका लागि १५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।

प्रदेश सभाका सांसद विकास लम्साल (नेकपाबाट)ले पनि उक्त कार्यक्रमको २ करोड बजेट विभिन्न योजनामा विनियोजन गरेका छन् । उक्त बजेट पाँचओटा सामुदायिक क्याम्पस तथा विद्यालय, ९ ओटा सामुदायिक भवन तथा मन्दिर, पाँचओटा सडक, तीनओटा खेलमैदान, एउटा तरकारी संकलन केन्द्र लगायत २५ योजनामा खर्च गरिने भएको छ । बजेटको प्राथमिकतामा परेका सबै योजना सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयबाट कार्यान्वयन हुने बताइएको छ । यी योजनामा बढीमा २५ लाखदेखि थोरैमा २ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको लम्सालले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)