ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको नाफा २७.५९% वृद्धि

Nov 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूको नाफा २७ दशमलव ५९ प्रतिशत बढेको छ । १९ जीवन बीमा कम्पनीले यस अवधिमा रू. १ अर्ब  ६ करोड ४८ खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको नाफा भन्दा रू. २३ करोड २ लाख बढी हो ।

गत आवमा जीवन बीमा कम्पनीहरूले रू. ८३  करोड ४५ लाख नाफा कमाएका थिए । 

कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीहरूको बीमांकीय मूल्यांकन भएपछि नाफा थप बढ्नेछ । बीमांकीले बीमांकीय मूल्यांकन गर्दा जीवन बीमा कोषबाट केही रकम नाफा–नोक्सान खातामा पठाउन सक्ने व्यवस्था छ । 

पहिलो त्रैमासमा नाफा कमाउने मामलामा नेपाल लाइफ, नेशनल लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएका छन् । तथ्यांकअनुसार यी चार कम्पनीको नाफा १० करोड रुपैयाँभन्दा बढी छ । यस अवधिमा नेपाल लाइफले रू. २० करोड ४४ लाख र नेशनल लाइफले रू. ११ करोड ५३ लाख खुद नाफा कमाएको छ । 

यसैगरी तेस्रो स्थानमा रहेको युनियन लाइफले रू. १० करोड ४५ लाख खुद नाफा कमाएको छ । २ वर्षअघि सञ्चालनमा आएको यस कम्पनीले नाफा कमाउने मामलामा ९ नयाँ कम्पनीसहित ७ पुराना कम्पनीलाई पनि पछाडि पारेको छ । यसैगरी समीक्षा अवधिमा प्राइम लाइफ इन्स्यारेन्सले रू. १० करोड २ लाख खुद नाफा कमाएको छ । 

यद्यपि, समीक्षा अवधिमा तीन जीवन बीमा कम्पनीको नाफा घटेको छ । एलआईसी नेपाल, आईएमई लाइफ र सानिमा लाइफले यस अवधिमा आफ्नो नाफालाई गतवर्षको कायम राख्न सकेनन् । गत आवको पहिलो त्रैमासमा रू. ४ करोड ८८ लाख नाफा कमाएको एलआईसी नेपालले अहिले रू. २ करोड ३६ लाख मात्र नाफा गरेको छ । त्यस्तै, गत आवको पहिलो ३ महीनामा रू. ३ करोड ४ लाख नाफा कमाएको आईएमई लाइफको नाफा अहिले भने रू. २ करोड ९५ लाखमा खुम्चिएको छ । 

पछिल्लो २ वर्षमा १० जीवन बीमा कम्पनी थपिएपछि बीमा बजारमा प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धाका कारण कम्पनीहरूले आफ्नो लगानीको दायरा पनि बढाउँदै गएका छन् । 

सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले लगानीबाट हुने आम्दानी बढ्दै गएपछि नाफा पनि बढ्दै गएको बताए । उनले भने, ‘कम्पनीको अन्डरराइटिङ प्रक्रियाबाट नाफा बढेको होइन । लगानीको रिटर्न बढ्दै गएपछि यस्तो अवस्था आएको हो ।’ 

कम्पनीहरूले बीमितबाट संकलन गरेको बीमाशुल्क बैंकको निक्षेप, घरजग्गा, ऋणपत्र लगायतका तोकिएको क्षेत्रमा लगानी गर्न पाउँछन् । कम्पनीहरूको मुख्य आम्दानीको स्रोत नै ती लगानीहरूबाट हुने नाफा हो । यस्तै, समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले रू. २४ अर्ब ९० करोड ६० लाख बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको भन्दा ६४ दशमलव ६७ प्रतिशत बढी हो ।

गत आवको समीक्षा अवधिमा कम्पनीहरूले रू. १५ अर्ब १२ करोड ४३ लाख बीमाशुल्क संकलन गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)