ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर : घरबहाल कर बाहेकका शीर्षकमा राजस्व लक्ष्य पूरा भएन

Nov 25, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

मंसिर ९, महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लिएको राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्न सकेको छैन् । महाकालीका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कार्यक्षेत्र रहेको  आन्तरिक राजस्व कार्यालयले साउनदेखि कार्तिकसम्म लिएको चौमासिक लक्ष्य पूरा गर्न असफल भएको हो ।

राजस्व कार्यालय महेन्द्रनगरको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चौमासिकमा लिएको लक्ष्यको ८० प्रतिशत राजस्व संकलन गरिएको छ । आन्तरिक राजस्व कार्यालयका डाटा ईन्ट्री सुपरभाईजर भीम विष्टले पहिलो चौमासिकमा रू. १ अर्ब ७८ लाख ९० हजार राजस्व संलकल गर्ने लक्ष्य लिएकोमा रू. ८० करोड ६७ लाख ८६ हजार राजस्व संकलन भएको बताए । उनका अनुसार कार्यालयले संकलन गरेको राजस्वमा घर बहाल कर बाहेक अन्य शिर्षकमा चौमासिक लक्ष्य पूरा गर्न सकेको छैन ।

राजस्व कार्यालयले रू. १७ करोड घर बहाल कर संकलन गर्ने लक्ष्य लिएकोमा रू. २५ करोड ९३ लाख ४ हजार राजस्व संकलन गर्न सफल भएको छ । त्यस्तै रू. २२ करोड ९७ लाख आय कर संकलन गर्ने लक्ष्य लिएकोमा रू. २२ करोड १६ लाख ३५ हजार राजस्व संकलन भएको छ । रू. २९ करोड ९७ लाख १ हजार मूल्य अभिवृद्धी कर संकलन गर्ने लक्ष्य रहेकोमा रू. २७ करोड २६ लाख २२ हजार जम्मा भएको छ ।

त्यस्तै बक्यौता करको ब्याजबाट रू. ६५ लाख २१ हजार, आन्तरिक कर रू. २७ करोड ९७ लाख ८२ हजार, शिक्षा कर रू. २५ लाख ७ हजार र स्वास्थ्य सेवा कर रू. ३५ हजार मात्रै संकलन भएको राजस्व कार्यालयले जानकारी गराएको छ ।

बक्यौता करको ब्याजबाट रू. १ करोड ८३ लाख ७ हजार, आन्तरिक करबाट ४४ करोड ३ लाख ४२ हजार, शिक्षा करबाट २७ लाख ३१ हजार लक्ष्य तोकिएकोमा स्वास्थ्य सेवा करको लक्ष्य ताकिएको छैन ।

अधिकांश करदाताले आर्थिक वर्षको अत्यमा कर तिर्ने गरेकाले चौमासिक लक्ष्य पूरा नभएको सुपरभाईजर विष्टको भनाइ छ । राजस्व कार्यालयले चालू आवमा रू. ३ अर्ब ६८ करोेड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

चार उत्कृष्ट करदाता सम्मानित
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आठौं कर दिवसको अवसरमा चार उत्कष्ट करदातालाई सम्मान गरेको छ । महाकालीका चार ओटै जिल्लाबाट एक÷एक करदातालाई सम्मान गरेको कार्यालयले बताएको छ ।

राजस्व कार्यालयका नायब शुब्बा दिल बहादुर गिरीले आठौं राष्ट्रिय कर दिवसको अवसरमा करदातालाई सम्मान गरिएको बताए  । उनका अनुसार सम्मानित हुनेमा कञ्चनपुरको लालु ट्रेडर्सका भीम कपाडी, डडेल्धुराको विरवेताल टे«डर्सका विर बहादुर ऐर, बैतडीको प्रकास टे«डर्सकी गोमती देवि जोशी र दार्चुलाबाट लटीनाथ वाईन सेन्टरका ईन्द्र देव पन्त रहेका छन् । बढी कर बुझाउने तथा कर कानूनको पूर्ण पालन गर्ने करदातालाई सम्मान गरिएको उनले बताए । राजस्व कार्यालयले राज्यलाई कर तिर्न उत्प्रेरित गर्ने तथा प्रोत्साहन गर्न सम्मान उत्कृष्ट करदाताको छनौट गरी हरेक वर्ष सम्मान गर्दै आएको छ ।

२१ हजार सेवा ग्राहीले लिए व्यत्तिगत पान
सरकारले प्रत्येक नागरिकले अनिवार्य व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान) लिनु पर्ने व्यवस्था गरेपछि पान लिनेको सेवाग्राहीको संख्या अत्यधिक बढेको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा २१ हजार ३४६ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । आन्तरिक राजस्व कार्यालयबाट गत आवमा १२ हजार ९५७ जनाले व्यक्तिगत पान लिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)