ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय गाडीको आयात बढ्दै 

कुल विद्युतीय गाडीको २४ प्रतिशत चालू आवको पहिलो ४ महीनामा आयात 

Nov 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सरकारको विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने नीति, भन्सार महसुलमा छूट तथा बढ्दो चार्जिङ स्टेशनका कारण नेपालमा विद्युतीय गाडीको आयात चालू आर्थिक वर्ष (आव)मा बढेको छ । 

मुलुकमा हाल भएका कुल विद्युतीय गाडीको करीब २४ प्रतिशत गाडी चालू आवको पहिलो ४ महीनामा मात्रै आयात भएको छ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको पछिल्लो तथ्यांकअनुसार कात्तिक मसान्तसम्म कुल ७०१ विद्युतीय गाडी दर्ता भएका छन्, जसमध्ये १६४ ओटा गाडी यस आवको पहिलो ४ महीनामा थपिएका हुन् ।

यातायात कार्यालयको तथ्यांकअनुसार यस आवमा दक्षिण कोरियाली कम्पनी किया र ह्युन्डे तथा भारतीय कम्पनी महिन्द्राका विद्युतीय गाडी धेरै आयात भएका छन् । 
नेपाली बजारमा हाल महिन्द्राको ईटूओ, कियाको निरो तथा ह्युन्डेको कोना र आयोनिक मोडलका विद्युतीय गाडी विक्रीमा उपलब्ध छन् । त्यस्तै चिनियाँ कम्पनी बीवाईडीको ई थ्री, ई–सिक्स र ई नाइन र चीनकै दाहे कम्पनीका विद्युतीय गाडी विक्री हुने गरेका छन् ।

पेट्रोल/डिजेलबाट चल्ने गाडीको तुलनामा वातावरणमैत्री हुनुका साथै दीर्घकालमा सञ्चालन खर्चसमेत सस्तो हुने भएकाले नेपालमा पछिल्ला २ वर्षयता विद्युतीय गाडीप्रतिको आकर्षण बढेको छ । मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएको सन्दर्भमा सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

पेट्रोल/डिजेलबाट चल्ने गाडीको आयातमा २४० देखि ३०० प्रतिशतसम्म भन्सार महसुल रहेकोमा विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । त्यस्तै, अन्य गाडी किन्दा ५० प्रतिशत मात्रै बैंक कर्जा पाइने व्यवस्था रहेकोमा विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ । 

यद्यपि, विद्युतीय सवारी सञ्चालनका लागि पर्याप्त पूर्वाधार नहुँदा विद्युतीय गाडी किन्न ग्राहक अझै आकर्षित हुन नसकेको अटोमोबाइल डिलरहरू बताउँछन् । ‘विद्युतीय गाडी सञ्चालनका लागि पर्याप्त चार्जिङ स्टेशन निर्माण हुन सकेको छैन, भएका पनि काठमाडौंमा केन्द्रित छन्, यसले गर्दा विद्युतीय गाडीले अझै पर्याप्त बजार लिन सकेको छैन,’ नाडा अटोमोबाइल्स एशोसिएशनका सचिव अनुपकुमार बरालले बताए । उनका अनुसार करीब ९९ प्रतिशत विद्युतीय गाडी काठमाडौं उपत्यकामा मात्रै केन्द्रित छन् । ‘राजधानीबाहिर विद्युतीय गाडी चलाउन आवश्यक पूर्वाधार छैन त्यसैले त्यहा विद्युतीय गाडीको बजार शून्य जस्तै छ,’ उनले भने । 

विद्युतीय गाडी आयातकर्ताले आफ्नै लगानीमा केही चार्जिङ स्टेशन बनाएकोमा अधिकांश स्टेशन काठमाडौं केन्द्रित छन् । सरकारी स्तरबाट १३ ओटा चार्जिङ स्टेशन सञ्चालनमा रहेको विद्युत् प्राधिकरणको तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षमा ५० ओटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी प्राधिकरणको छ ।

हालसम्म नेपालमा १२ ओटा कम्पनीले विद्युतीय गाडी आयात गरिरहेको यातायात कार्यालयको तथ्यांकमा देखिएकोमा विद्युतीय गाडी आयातमा सहुलियत दिए पनि आयात गर्न अन्य गाडीभन्दा रहेको आयातकर्ताहरू बताउँछन् । ‘संसारभर विद्युतीय गाडीको माग बढेकाले विद्युतीय गाडी आयात गर्न पेट्रोल÷डिजेलका गाडी जति सजिलो छैन,’ ≈युन्डेको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका ब्रान्ड म्यानेजर अवाशिष ओझा भन्छन् । अत्यधिक मागका कारण कम्पनीले विद्युतीय गाडी निर्यात गर्न नसकेकाले चाहेअनुसार गाडी ल्याउन नसकेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)