धनगढी । कैलाली–कञ्चनपुरमा खानेपानीका दर्जनौं योजना रहे पनि बजेट अभावले निर्माण सम्पन्न हुन नसकेको पाइएको छ । संघीय सरकार र प्रदेश सरकारबाट वर्षेनि खानेपानी योजना थपिने गरे पनि पर्याप्त बजेट विनियोजन नगरिँदा कार्यान्वयनमा समस्या हुने गरेको हो ।
कैलाली र कञ्चनपुर कार्यक्षेत्र रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धनगढीको तथ्यांक अनुसार दुवै जिल्लामा गरी १७४ खानेपानी योजना सञ्चालनमा रहेको देखिन्छ । तर अधिकांश योजनाको म्याद सकिएको, वर्षौंदेखि मर्मत सम्भार हुन नसकेको, चुरे क्षेत्रमा अवैध उत्खनन तथा विस्तृत वातावरणीय प्रभाव मूल्यांकनविना सडक निर्माण तथा चूनका कारण पानीको स्रोत सुकेको र आयोजनाका कतिपय संरचना भत्किए पनि पुनः सञ्चालनमा समस्या देखिएको कार्यालयले बताएको छ ।
निर्माण सम्पन्न योजनामध्ये निकै कम मात्र नियमित सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धनगढीका प्रमुख मोहनबहादुर कुँवरले बताए । हाल दुवै जिल्लामा गरी कुल १८८ ओटा क्रमागत योजना रहे पनि बजेट अभावले निर्माण अघि बढाउन नसकिएको उनको भनाइ छ । ‘यी सबै आयोजना सम्पन्न गर्न १० अर्ब २८ करोड रुपैयाँ बजेट आवश्यक पर्छ,’ उनले भने, ‘तर चालू आवमा ४० करोड रुपैयाँ मात्र विनियोजन हुँदा आयोजना निर्माणमा अन्योल भएको छ ।’
उक्त आयोजना निर्माणमा हालसम्म १ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको कार्यालयले बताएको छ । ‘आयोजनाको लागत ५ करोडदेखि १६ करोड रुपैयाँसम्म छ,’ कुँवरले भने, ‘तर बजेट निकै कम भएकाले भौतिक प्रगति सन्तोषजनक छैन ।’ संघीय सरकारबाट हस्तान्तरण भएर आएका १६ ओटा योजनाका लागि २६ करोड रुपैयाँ थपिएमा १ लाख २० हजार जनतालाई चालू आवमै खानेपानी आपूर्ति गर्न सकिने उनले बताए ।
कैलाली–कञ्चनपुरमा निर्माणाधीन आयोजनामा आवश्यक बजेट विनियोजन हुने हो भने ७ लाख ६० हजार जनतामा खानेपानीको पहुँच पुग्ने कार्यालयको दाबी छ । ‘उक्त आयोजनाको निर्माण सम्पन्न भएमा दुई जिल्लाका ५७ प्रतिशत मानिसलाई मध्यम तथा उच्चस्तरको खानेपानी आपूर्ति गर्न सकिन्छ,’ कुँवरले भने । आव २०७४÷७५ सम्म सम्पन्न भएका १७४ योजनामध्ये ३० प्रतिशतको पुनर्निर्माण तथा मर्मतसम्भार गर्नुपर्ने देखिएको कार्यालयले बताएको छ । योजना मात्र थपिँदै जाने, तर बजेट नथपिने समस्याले निर्माणमा ढिलाइ हुनुका साथै गुणस्तर खस्किने गरेको कुँवरको भनाइ छ ।