ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा बन्जिजम्प सञ्चालन हुँदै

Nov 27, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी


पर्वत । पर्वत र बाग्लुङको सीमाक्षेत्रमा साहसिक खेल बन्जिजम्प सञ्चालन हुने भएको छ । पर्वतको कुश्माबाट बागलुङको बलेवा जोडिने गरी बन्जिजम्प स्थल बनाइएको छ । कालीगण्डकी नदीमाथि बनाइएको बन्जिजम्पको सञ्चालन अंग्रेजी नयाँ वर्ष सन् २०२० (२०७६ पुस) देखि हुने निर्माण कम्पनी द क्लिफले जानकारी दिएको छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन लागेकोले सोही अवसरमा बन्जिजम्प पनि सञ्चालन गर्न लागेको कम्पनीको भनाइ छ । कम्पनीकै नामबाट रिसोर्ट, स्काई साइक्लिङ र स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) लगायत सञ्चालन गर्ने तयारी रहेको लगानीकर्ता राजु कार्कीले जानकारी दिए । उनक अनुसार करीब २० करोडको लगानीमा बन्जिजम्प बनाइएको हो । 

कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुन्ड्याइएको पुलबाट साढे २ सय मिटर तल बगेको कालीगण्डकीको बीचमा बन्जी गर्न मिल्नेगरी प्राविधिकहरू निर्माणमा व्यस्त छन् । यो परियोजनामा पर्वत जिल्लाका ११ जना युवाको लगानी रहेको छ । 

कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरी व्यवसायीले लगानी गरेका हुन् । लगानीकर्ताहरूले परियोजनाका लागि करीब रू. १५ करोड लगानी अनुमान गरेका थिए । तर, डिजाइन र प्राविधिक कारणले करीब रू. ५ करोड लगानी बढेको कार्कीले जानकारी दिए ।

यहाँ आउने पर्यटकलाई बास बस्नका लागि रिसोट बनाइँदै छ । त्यसका लागि बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट ५७ किलोमिटर उत्तरमा पर्ने कुश्मा मुक्तिनाथको प्रवेशद्वार पनि हो । त्यसैले पनि यहाँको बन्जिजम्प विदेशीको रोजाइमा पर्ने सञ्चालक युवराज जोशीले बताए । उत्तर–दक्षिण छिमेकी मुलुक जोड्न निर्माणाधीन कालीगण्डकी कोरिडोर र मध्यपहाडी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएपछि भारतीय र चिनियाँ पर्यटकको रोजाइमा यो स्थल पर्नसक्ने उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए ।

पर्वतमा कालीगण्डकी र मोदी नदीमाथि बनेका नेपालका अग्ला झोलुंगे पुल हेर्न दैनिक दुई सय पर्यटक आउने गरेका छन् । यहाँ गुप्तेश्वर, लालेश्वर, अल्पेश्वर र पार्वती गुफाले पनि पर्यटक आकर्षित गरिरहेका छन् । बन्जिजम्प बनेपछि आन्तरिक र बाह्य पर्यटकको संख्या झने बढ्ने अपेक्षा रहेको शर्माले बताए । 

बन्जिजम्प सञ्चालन भएपछि बन्द रहेको बलेवा विमानस्थलमा पनि सञ्चालन गर्ने तयारी छ । यात्रु अपुग रहेको भन्दै हाल विमानस्थल बन्द छ । अहिले विमानस्थलमा कालोपत्र गर्ने तयारी छ । नियमित रूपमा विमानस्थल समेत सञ्चालन हुने भएकाले बन्जिजम्पले पर्वत र बागलुङमा धेरै सम्भावनाको ढोका खुल्ने व्यवसायीहरू बताउँछन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)