ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिहेको सिजनमै सुन कारोबारमा कमी

गतवर्षको भन्दा ५० प्रतिशत कम कारोबार

Nov 29, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सुनको मूल्य बढ्दा पहेँलो धातुको कारोबार हुने मुख्य सिजन अर्थात् मंसिरमा कारोबार उत्साहजनक देखिएको छैन । विशेषगरी बिहेको समयमा बढ्ने सुनको कारोबार यस सिजनमा करीब ५० प्रतिशतले कमी आएको सुनचाँदी व्यवसायीहरू बताउँछन् । मंसिरमा मुलुकभरका २२ हजारभन्दा बढी सुनचाँदी पसलबाट दैनिक ५० देखि ६० केजीसम्म सुन विक्री हुने गथ्र्याे । तर, अहिले दैनिक विक्री २५ देखि ३० केजीमा सीमित भएको व्यवसायीहरूको भनाइ छ । 

चालू आर्थिक वर्षको पहिलो ३ महीनाको तुलनामा सुनको कारोबार बढ्दै गए पनि बिहेको सिजनमा जुन मात्रामा किनबेच हुन्थ्यो, त्यो हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंसिरमा पनि सुनको कारोबार सोचेअनुरूप नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । ‘साउन, भदौ र असोजको तुलनामा अहिले सुनको कारोबार सन्तोषजनक छ । तर, अघिल्ला वर्षहरूको मंसिरमा जुन रूपमा व्यवसाय हुन्थ्यो, त्यो अनुसारको छैन,’ उनले भने, ‘ग्राहकले अति आवश्यक गरगहना मात्रा अर्डर गर्ने गरेका छन् । पहिलेको जस्तो फेशनका लागि गरगहना बनाउने गरेका छैनन् ।’ पहिले ८ तोलासम्म सुनका गरगहना किन्ने व्यक्तिले अहिले मुश्किलले ४ तोला सुनको गरगहना किन्ने गरेको उनको भनाइ छ । 

मंसिरमा सुनको उच्च माग हुँदा बजारमा पहेंलो धातुको कालोबजारी समेत हुने गथ्र्यो । कालोबजारी गर्ने व्यक्तिहरूले तोलामा निर्धारित मूल्यभन्दा ३ हजार रुपैयाँसम्म बढी मूल्य लिएर सुनको विक्री गर्थे । तर, अहिले बैंकबाट दैनिक रूपमा पाइने २० केजी सुनले नै बजारको माग धानिरहेको व्यवसायीहरू बताउँछन् । 

नेपाली बजारमा सुनको मुल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । लामो समयदेखि जारी अमेरिका र चीनबीचको व्यापार युद्धका कारण विश्व बजारमा नै सुनको मूल्य बढेको छ । त्यसैको प्रभावले नेपालमा पनि सुनको मूल्य अकाशिएको हो । 

असारअघि नेपाली बजारमा प्रतितोला रू. ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य त्यसयता रू. ७३ हजार ५०० सम्म पुग्यो । अहिले प्रतितोला ७१ हजारको हाराहारीमा सुनको कारोबार भइरहेको छ ।

मूल्य बढेपछि साउनदेखि असोजसम्म सुनको कारोबार लगभग ठप्पजस्तै भएको थियो । तिहारसँगै कारोबारमा सुधार आउँदा मंसिरमा सुन र गरगहना विक्री बढ्ने अपेक्षामा व्यवसायी थिए ।

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले आम ग्राहकको मूल्य घट्छ भन्ने मनोविज्ञानका कारण पनि सुनको कारोबार कम भएको बताए । ‘केही वर्षअघि सुनको मूल्य बढेर प्रतितोला रू. ६० हजारसम्म पुग्यो, तर पछि घटेर ४७ हजार रुपैयाँमा झर्‍यो । अहिले पनि त्यस्तै हुन्छ कि भन्ने ग्राहकको अनुमान छ,’ उनले भने, ‘त्यही आशामा ग्राहकले सुन किन्न खोजेका छैनन् । तर, सुनको मूल्य घट्ने सम्भावना कम छ ।’

साथै, बढ्दो महँगीका कारण पनि सुन बजारमा शिथिलता आएकोे मणिरत्नको टिप्पणी छ । ‘बजारमा महँगी बढेको बेला सुनको मूल्य पनि बढेपछि मानिसले यसलाई प्राथमिकतामा राखेका छैनन्,’ उनले बताए । 

अहिले अमेरिका र चीनबीचको व्यापारयुद्ध मौन अवस्थामा छ । द्विपक्षीय व्यापार गर्ने भनिए पनि अभैm हुन सकेको छैन । त्यसैले हाल सुनको मूल्य नबढ्ने सम्भावना छ । यदि, चीन र अमेरिकाबीचको व्यापार युद्ध साम्य नभएमा भने सन् २०२० मा अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य प्रतितोला रू. ७० हजारभन्दा माथि पुग्ने अनुमान गरिएको छ । यदि, त्यसरी सुनको मूल्य बढेमा नेपालमा यसको मूल्य प्रतितोला रू. ७५ हजारभन्दा माथि पुग्ने देखिन्छ । हाल अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतितोला करीब ६३ हजार रुपैयाँ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)