ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१३औं सागको तयारी पूरा : राष्ट्रपतिबाट उद्घाटन

Dec 1, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
१३औं दक्षिण एशियाली खेलकूद (साग) उद्घाटन समारोहका लागि काठमाडौंको दशरथ रंगशालामा शुक्रवार गरिएको पूर्वअभ्यास ।
author avatar काशीराम बजगाईं

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सागको भव्य समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राखेपका प्रशासन प्रमुख कुलबहादुर थापाले नेपाली मौलिकता झल्किने गरी सागको उद्घाटन समारोह आयोजना गरिन लागेको बताए । ‘सबै खेलका लागि आवश्यक संरचना निर्माण र उद्घाटन भव्य बनाउने सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने ।  

दक्षिण एशियाका ७ मुलुक नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सको सहभागिता रहने १३आंै सागको उद्घाटन समारोहमा सशस्त्र प्रहरी बलका ४ हजार ५००, सेनाका १ हजार ५०० र झाँकी समूहका ४ हजार कलाकारले नेपाली कला/संस्कृति झल्किने प्रस्तुति दिने कार्यक्रम रहेको छ । 

नेपाल ओलम्पिक कमिटीका अनुसार नेपालका तर्फबाट भारोत्तोलन खेलाडी कमल अधिकारीले राष्ट्रिय झन्डा समातेर मार्चपासको नेतृत्व गर्नेछन् । राखेपका अनुसार सागको उद्घाटन समारोह ३ घण्टा ४० मिनेट लामो हुनेछ । 

१३औं सागमा २८ खेल समावेश छन्, जसमध्ये जनकपुरमा एक र पोखरामा ८ खेल हुनेछ भने बाँकी काठमाडौंमा गरिँदै छ । फेन्सिङ र विच भलिबललाई १३औं सागमार्फत पहिलोपटक सागमा नयाँ खेलका रूपमा समावेश गरिएको छ ।

विस २०४१ मा नेपालबाटै शुरू भएको साग तेस्रोपटक नेपालमा आयोजना हुन लागेको हो । सागको संस्थापक सदस्य नेपालले यसअघि २०४१ र २०५६ सालमा गरी दुईपटक सागको आयोजना गरिसकेको छ ।

यसअघि २०५६ असोजमा ८औं साग काठमाऔंमा आयोजना गरिँदा नेपाल ३१ स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको थियो । त्यतिबेला १३ ओटा खेल प्रतियोगितामा समावेश गरिएका थिए । आयोजकका अनुसार यसपटक ३ हजारभन्दा बढी खेलाडी सागमा सहभागी हुँदै छन् जसले ३२४ स्वर्ण, त्यति नै रजत र ४७८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

१३औं सागका लागि नेपाल सरकारले करीब साढे ४ अर्ब रुपैयाँको बजेट निकासा गरेको छ । राखेपका अनुसार खेल पूर्वाधार निर्माणका  लागि रू. १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाको निम्ति रू. ३ अर्ब ६५ करोड बजेट रहेको छ ।

खेल अवधिभर नेपाल प्रहरीले सुरक्षा दिनेछ । प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले आवश्यकता अनुसार प्रहरी परिचालन गरी खेल व्यवस्थापन र खेलाडीलाई आवश्यक सुरक्षा दिइने बताए । ‘खेलाडीलाई एस्कर्टिङ गरेर होटल, खेल मैदानदेखि आवश्यक स्थानसम्म लगिने तयारी गरिएको छ,’ उनले भने, ‘खेल अवधिभर सबै खेलाडीको आवश्यक सुरक्षाका लागि प्रहरी परिचालन गर्ने तयारी गरेका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)