ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महेन्द्रनगर र नेपालगञ्ज हवाई रूट : उच्चस्तरीय कूटनीतिक पहल आवश्यक

Dec 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपागञ्ज हवाई रूटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रूटबारे भारतको अडानले नेपाललाई दीर्घकालीन असर पर्ने भएकाले रूटका लागि कूटनीतिक पहल आवश्क भएको विज्ञहरूको धारणा छ । 

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा वार्ता भएको थियो । यस्तै गतवर्ष माघ महीनामा दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पनि भारतको मुम्बईमा आयोजना भएको ‘ग्लोबल एभिएशन समिट–२०१९’ मा यस विषयमा भारतीय समकक्षीसँग यसबारे छलफल गरेका थिए । तर पनि हालसम्म यो विषय भारतीय कर्मचारीतन्त्रले ‘भइहाल्छ’ भन्दै नेपाललाई झुलाउँदै गरेको पर्यटन मन्त्रालयकै अधिकारीको धारणा छ । 

विमानस्थल बन्ने काम अन्तिम चरणमा पुगेकाले नेपालका लागि आवश्यक ती रूटबारे कूटनीतक तहबाटै गम्भीर वार्ता गर्न आवश्यक भएको अधिकारीहरूको धारणा छ । सरकारले महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश विन्दुका लागि भारतसँग पुनः छलफल गर्ने भने पनि यो कुरा कुरामै सीमित भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हाले यता विभिन्न फोरममा यस विषयमा भारतसँग कूटनीतिक पहल गर्ने बताउँदै आएका छन् । तर, पर्यटन मन्त्रालय स्रोतका अनुसार यसबारे कुनै ठोस योजना वा कार्यक्रम बनेको छैन । 

२०७५ असार २ गते नेपालमा भएको दुईपक्षीय वार्तामा भारत नेपाललाई थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्याङ्कन (सेफ्टी एसेसमेन्ट) गर्न अरू समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसक्ने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

असारमा भारतले भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेश बिन्दु दिन सहमति जनाएको थियो । तर पछि पश्चिमका रूटमा सहमति नदिई भैरहवा र जनकपुरबाट मात्र क्रशबोर्डर हवाई प्रवेश बिन्दु दिन सहमति जनाएको थियो ।

यो रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको धारणा छ । पूर्व—पश्चिम दुवैतर्पmबाट आउने विमानहरू हालसम्म सिमरा नजीकै रहेको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् । भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, बैंकक लगायत ठाउँबाट आउने हवाई जहाजहरू यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् । नेपालले भारतसँग सिमराबाहेक महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रूटसमेत उपलब्ध गराउन माग गर्दै आएको थियो । नेपाल बाहिर जान महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट विन्दु प्रयोग गर्छन् ।

भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर)बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेश बिन्दु छोटो पर्छ । तर, अनुमति नभएका कारण सिमरातर्पmबाट घुमेर आउँदा इन्धन र हवाई दूरी बढी पर्न जान्छ । यस्तै पोखराको हकमा नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता रहेको छ । त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रूट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने प्राधिकरणका अधिकारीको धारणा छ । प्राधिकरणका अनुसार यी दुई नयाँ प्रवेश विन्दुबाट विमानहरू नयाँदिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १६९ र पोखराका लागि एक १६५ नटिकल माइल दूरी कम हुने प्राधिकरणका अधिकारीको धारणा छ । 

यो विषयमा कर्मचारी वा उड्डयन प्राधिकरण तहबाट कुराहरू भएको र कतिपय सुरक्षा चासो देखाउँदै उनीहरूले ती रूट नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले बताए । उनले कूटनीतिक प्रयास गरेरै यो विषयमा सहमति कायम गर्न सके नेपाललाई सहज हुने बताए ।

क्रश बोर्डर इन्ट्री रूटको उडान कार्यविधि बन्न बाँकी
अर्कोतर्फ भारत सहमत भएको भैरहवा र जनकपुर क्रशबोर्डर हवाई प्रवेश बिन्दुको उडान कार्यविधि र वाइ डिरेक्शन पनि बन्न पनि बाँकी रहेको छ । गतवर्ष असारमा भएको सहमतिपछि यस विषयमा रूट र स्लट निर्धारण गर्न दुवै देशले अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) मा संयुक्त रूपमा आवेदन दिएका थिए । आईकाआले आफूलाई जानकारी दिएपछि दुवै देशलाई उडान कार्यविधि र वाइ डिरेक्शन बनाउने भने पनि त्यो काम अझै हुन सकेको छैन ।

क्रशबोर्डर अनुमतिपछि यी दुई बिन्दुबाट नेपालमा विमान अवतरण गर्न पनि पाउने छन् । पहिले यी बिन्दुबाट विमानबाहिर जान (उड्न) मात्र पाउँथे । संयुक्त आवेदनपछि आईकाओले उडान कार्यविधि र ‘वाइ डिरेक्शन’ बनाउन दुवै देशलाई भनेको तर हालसम्म नबनेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । ‘आईकाओले हामीलाई कार्यविधि बनाउन भनेको छ । यसबारेमा भारतीय पक्षसँग विभिन्न चरणमा संवाद भएको छ । भारतले समय दिएपछि कार्यविधि तयार गर्ने काम हुनेछ,’ उनले भने ।

महेन्द्रनगर र नेपालगञ्ज रूट तत्काल नदिए पनि हाल सहमति दिएका रूटलाई व्यवस्थापन गर्ने गरी तयारी थाल्नुपर्ने क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए । ‘हामीले मागेको पश्चिमका रूट दिन भारत सहमत भए नेपाललाई सहज हुनेछ । तर, त्यो नदिए पनि हाल सहमति भएका क्रसबोर्डर रूटबाटै सञ्चालनको तयारी गर्ने गरी बाँकी काम गर्नुपर्छ,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)