ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलालीको पूर्वाधार निर्माणमा रू. ७७ करोड खर्च

Dec 3, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । चालू आर्थिक वर्षको प्रथम चौमासिकमा कैलालीमा पूर्वाधार विकास निर्माणमा रू. ७७ करोड खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, धनगढीले बताएको छ । सो अवधिसम्ममा विकास बजेटको ७ दशमलव ६४ प्रतिशत भएको छ । चालू आवका लागि कैलालीको विकास बजेट रू. १० अर्ब १८ करोड रहेकोमा प्रगति ७७ करोड मात्र देखिएको कार्यालयका सूचना अधिकारी मदनराज पाण्डेले बताए । जिल्लाको पूर्वाधार निर्माण लगायत क्षेत्रमा अपेक्षाकृत प्रगति नदेखिएको अधिकारीहरू बताउँछन् ।

उक्त अवधिमा जिल्लाका ६ ठूला विकासे आयोजनामा सबैभन्दा कम शून्य दशमलव २९ प्रतिशत खर्च संघीय खानेपानी आयोजनाको छ । उक्त आयोजनाको २६ करोड ४४ लाख विकास बजेटमध्ये ७ लाख ७६ हजार रुपैयाँ मात्र खर्च भएको हो । अख्तियारी ढिलो प्राप्त भएकाले खर्च गर्न नसकिएको संघीय खानेपानी आयोजना कार्यालय, धनगढीका प्रमुख जगन्नाथ दासले बताए । त्यस्तै ५४ करोड रुपैयाँ बजेट रहेको राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समितिको खर्च ५ करोड ५३ लाख रुपैयाँ मात्र देखिएको छ ।

यसैगरी मोहनापुल–अत्तरिया सडक योजनाको बजेट खर्च प्रगति २ दशमलव ३४, हुलाकी सडक योजनाको ७ दशमलव ११, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको १२ दशमलव ६४ र संघीय आयोजना कार्यान्वयन एकाइको १६ दशमलव ९३ प्रतिशत देखिएको छ ।

जिल्लाका १३ स्थानीय तहले चालू आवको पहिलो चौमासिकमा १४ प्रतिशत बजेट खर्च गरेका छन् । ६ गाउँपालिका, ६ नगरपालिका र एक उप–महानगरपालिकाका लागि गरी कुल ८ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा सो अवधिको खर्च भने १ अर्ब २२ करोड मात्र देखिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाले सबैभन्दा कम ११ प्रतिशत र बर्दगोरिया गाउँपालिकाले सबैभन्दा बढी १७ प्रतिशत बजेट खर्च गरेका छन् । बाँकी ११ स्थानीय तहको बजेट खर्च १० प्रतिशतभन्दा माथि र १७ प्रतिशत भन्दा मुनि रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय, कैलाली प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले बताए । 

गत आर्थिक वर्षमा जिल्लाका १३ स्थानीय तहको २३ प्रतिशत बजेट फ्रिज भएको थियो । पहिलो चौमासिकसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको बजेट पनि अपेक्षाकृत रूपमा कार्यान्वयन नभएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । सो अवधिमा प्रदेश सरकारको बजेट साढे ४ प्रतिशत मात्र कार्यान्वयन भएको पाइएको छ । चालू आवका लागि प्रदेश सरकारले साढे २८ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)