ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश आयोजना छनोट मापदण्ड तयार

२०७६ मंसिर, १८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश आयोजना छनोट मापदण्ड २०७६ तयार पारेको छ । आयोजनाहरूलाई वर्गीकरण र प्राथमिकीकरण गरी स्रोत सुनिश्चिततासहित कार्यान्वयन योग्य बनाउन प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मापदण्ड तयार गरेको हो ।

विकास आयोजनाहरूलाई समावेशी र समानुपातिक बाँडफाँट गरी उचित आयोजना छनोटको मापदण्ड निर्धारण गर्न प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ अनुसार प्रदेश सरकारले यस्तो कार्यविधि तयार पारेको हो । 

मापदण्ड अनुसार आयोजनाबाट पुग्ने योगदानको यथार्थ र वस्तुगत सूचकको आधारमा मूल्यांकन गरी मन्त्रालयले तोकेको मार्गदर्शनको आधारमा आयोजना छनोट गर्ने जिम्मेवारी विषयगत मन्त्रालयकै हुनेछ ।

प्रदेश सरकारले सञ्चालन गर्ने पूर्वाधार विकास आयोजनाको न्यूनतम लागत सडकतर्फ २० लाख, सिँचाइ सतह (तराई) १ करोड, सिँचाइ सतह (पहाड) २० लाख, सिँचाइ भूमिगत ५० लाख र सिँचाइ नयाँ प्रविधि २० लाख रुपैयाँ हुने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए । यस्तै शिक्षा, खेलकुद र स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधारमा न्यूनतम लागत क्रमशः २० लाख, १० लाख र २० लाख रुपैयाँ हुने उनले जानकारी दिए । उनका अनुसार प्रदेशको एकल अधिकार क्षेत्रभित्रका अन्य भौतिक पूर्वाधारका लागि १० लाख रुपैयाँ न्यूनतम लागत रहनेछ ।

एकै प्रकृतिका आयोजनाका लागि अन्तरनिकाय समन्वय गरेर मात्र आयोजना छनोट गर्नुपर्ने, नयाँ आयोजना तयार गर्दा समय तथा लागतको दोहोरोपना हटाउन संघीय तथा स्थानीय तहले बजेट विनियोजन गरे÷नगरेको यकिन गर्ने, साधन, स्रोत, समय र क्षमताले भ्याउने गरी उपयुक्त संख्यामा मात्र आयोजना छनोट गर्न पाउने व्यवस्था गरिएको छ । यसबाट प्रदेशभित्र तीनै तहका योजनाहरू नबाझिने गरी सन्तुलित विकास गर्न सहज हुने अपेक्षा प्रदेश सरकारले गरेको छ । 

उक्त मन्त्रालयबाट दिइएको बजेट सीमाभित्र नपर्ने र स्रोतको सुनिश्चितता नभएका आयोजना भने छनोट गर्न नपाइने मापदण्डमा उल्लेख छ । ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालिन आयोजना तथा कार्यक्रमसँग दोहोरो पर्ने कार्यक्रम र योजना यो मापदण्डअनुसार छनोट हुने छैनन्,’ मन्त्री बोहराले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)