ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धौवादीको फलाम खानीबाट बिलेट उत्पादनको योजना

२०७६ मंसिर, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.


काठमाडौं । नवलपुरमा रहेको धौवादी फलाम खानीबाट फलामे छड/स्टीलका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ बिलेट उत्पादन गर्ने योजना खानी तथा भूगर्भ विभागले अघि सारेको छ । 

नेपाल फलामे छड तथा स्टीलमा आत्मनिर्भर उन्मुख भए पनि अहिले बिलेट भारतबाटै आयात हुने गर्छ । हाल भारतबाट वार्षिक १२ देखि १३ लाख मेट्रिक टन बिलेट आयात हुँदै आएको छ । विभाग स्रोतका अनुसार फलाम उत्पादनबाट बिलेट बनाउने योजना अघि बढेको छ । यसका साथसाथै त्यसबाट कुनकुन वस्तु बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । 

धौवादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनका लागि मंसिर पहिलो साता कम्पनी रजिस्ट्रारको कार्यालयमा धौवादी फलाम खानी कम्पनी दर्ता भइसकेको छ । साथै कम्पनीको चार सदस्यीय सञ्चालक समिति समेत गठन भइसकेको छ । सञ्चालक समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र विभागका एक÷एक प्रतिनिधि रहनेछन् भने सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा सञ्चालनमा आउने कम्पनीमा निजीक्षेत्रको प्रतिनिधित्व भने खोजिँदै छ । 

उक्त कम्पनीको कामलाई अघि बढाउन समितिले अर्थ मन्त्रालयसँग रू. २ अर्ब बजेट माग गरेको विभाग स्रोतले बताएको छ । कम्पनीले फलाम कारखाना, फलामको प्रशोधन केन्द्र, कारखाना राख्ने स्थान, ऋण व्यवस्थापन, फलामको बजार मूल्य, फलामको सम्भाव्यता अध्ययन लगायत कार्य अघि बढाउने कामका लागि उक्त बजेट माग गरेको हो । 

विभागका सूचना अधिकारी कृष्णदेव झाले चीन परीक्षणका लागि पठाइएको ५ हजार केजी फलामको रिपोर्ट आएपछि मात्रै सम्भाव्यता अध्ययन अघि बढाउने जानकारी दिए । ‘नेपालमा खनिज उत्खननबाट फलामको उद्योग सञ्चालनको अनुभव छैन,’ उनले भने, ‘यसको प्लसपोइन्ट भनेको डिपोजिट राम्रो छ ।’ अहिले चीनमा भइरहेको परीक्षणको प्रतिवेदन माघसम्ममा आउने र त्यसपछि सम्भाव्यता अध्ययन गरिने उनले बताए । 

धौवादीमा १० किलोमीटर लामो फलामखानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ । धौवादीको फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइ र १०० मीटर गहिराइको छ । देशको सबैभन्दा ठूलो उक्त फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ । सामान्यतया तीन मेट्रिक टन ढुंगा पेल्दा एक मेट्रिक टन फलाम उत्पादन हुनुपर्ने भूगर्भविद् बताउँछन् ।

धौवादीको फलाम खानीमा २०६७/६८ देखि नै अन्वेषण थालिएको हो । तर, २०७२/७३ देखि मात्रै यसमा नियमित काम शुरू भएको छ, भने सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमै उक्त खानीबाट व्यवसायीक फलाम उत्पादन गर्ने योजना पनि घोषणा गरेको छ । 

नेपालमै बिलेट उत्पादन भएमा अर्बौ रुपैयाँ विदेशिनबाट बच्ने स्टील उद्यमीहरूको धारणा छ । फलामे छड उत्पादनमा सक्रिय रहेको साखः ग्रुपका उपाध्यक्ष किरणभक्त साखःले अहिले फलामे छडको कच्चा पदार्थ बिलेट नेपालका केही उद्योगले उत्पादन शुरू गरे पनि अधिकांश भारतबाट आउने जानकारी दिए । नेपालमै बिलेट उत्पादनले उत्साहित बनाउने भन्दै उनले यसको प्रकृति, गुणस्तर लगायत विषयलाई हेरेर निजीक्षेत्रले उपयोगमा ल्याउन सक्ने उल्लेख गरे । 

‘देशमै भएको कच्चा पदार्थ उपयोग गर्दा लागत कम हुन्छ र उपभोक्तालाई सस्तोमा उपलब्ध गराउन सकिन्छ,’ उनले भने, ‘फलामे छडमा आत्मनिर्भर भएको अवस्थामा बिलेट उत्पादन गर्ने योजना अघि आउनु निजीक्षेत्र तथा देशकै लागि लाभको विषय हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)