ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्दै कृषिबीमाको व्यवसाय : पहिलो त्रैमासमा साढे २८ करोड बीमाशुल्क 

२०७६ मंसिर, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा कृषि (बाली तथा पशुपक्षी) बीमाको व्यवसाय २२ प्रतिशतले बढेको छ । उक्त अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कृषि बीमाबाट रू. २८ करोड ५३ लाख बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको भन्दा रू. ५ करोड १५ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा कृृषिबीमामार्फत रू. २३ करोड २८ लाख बीमाशुल्क संकलन भएको थियो । 

चालू आवको समीक्षा अवधिमा संकलन भएको बीमाशुल्कमध्ये पशुपक्षी बीमाअन्तर्गत रू. २६ करोड ५८ लाख र बाली बीमाअन्तर्गत रू. १ करोड ९५ लाख रहेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । संकलित कुल बीमाशुल्कमध्ये रू. २१ करोड ४० लाख नेपाल सरकारबाट अनुदानस्वरूप प्राप्त भएको हो । कृषिबीमाको बीमाशुल्कमा ७५ प्रतिशत अनुदान सरकारले दिनुपर्ने व्यवस्था छ ।

आव २०७३/७४ को पहिलो त्रैमासमा कृषि बीमामार्फत रू. २१ लाख मात्र बीमाशुल्क संकलन भएको थियो । तर, चालू आवको समीक्षा अवधिसम्म आउँदा कृषिबीमाको व्यवसाय निकै फराकिलो भएको देखिन्छ । समितिको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा कृषिबीमाको अंश करीब ५ प्रतिशत रहेको छ । समितिले २०६९ सालदेखि कृषिबीमा कार्यक्रम शुरू गरे पनि शुरूका वर्षहरूमा यस बीमाको व्यवसाय निराशाजनक नै थियो ।
 
समितिले सबै जिल्लामा कृषिबीमाको सेवा पुर्‍याउने गरी कम्पनीहरूलाई जिल्ला विभाजन गरी कार्यक्षेत्र तोकेको छ । साथै, स्थानीय तहसँग सहकार्य गरेर बीमासम्बन्धी अन्तरक्रिया पनि गर्दै आएको छ । त्यसले पनि कृषिबीमाको व्यवसाय बढेको समितिले बताएको छ । यसैगरी कृषि बीमासम्बन्धी नयाँ प्रडक्टहरू ल्याइएकाले पनि व्यवसाय बढेको समितिको भनाइ छ । 

समितिकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले पछिल्लो समय कृषि बीमासम्बन्धमा आम किसानको चेतना बढ्दै जाँदा पनि यसको व्यवसाय बढेको बताइन् । उनले भनिन्, ‘बाली बीमाको अझै विस्तार हुन बाँकी छ । तर, पशुपक्षी बीमातर्फ भने किसानको आकर्षण बढ्दै गएको छ, सरकारले अनुदान नदिए पनि उनीहरू बीमा गर्न तयार हुनेजस्तो स्थिति सृजना भएको छ ।’  

हाल कृषि बीमाअन्तर्गत २२ ओटा प्रडक्ट छन्, त्यसमध्ये पशुपक्षी बीमातर्फ ६ र बाली बीमातर्फ १६ छन् । हाल पशुपक्षी बीमातर्फ बाख्रा, माछा, कुखरा लगायत पशुपक्षीको बीमा गर्न सकिन्छ । यस्तै, बाली बीमातर्फ धान, अदुवा, सुन्तला, बेसार, च्याउ लगायत बालीको बीमा गर्न सकिन्छ । 

युनाइटेड इन्स्यारेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पनि पछिल्लो समय कृषिबीमाको व्यवसाय बढ्दो क्रममा रहेको बताए । ‘नेपाल बीमक संघले लघु बीमामार्फत कृषि बीमा कार्यक्रमलाई अगाडि बढाएको छ । साथै, नयाँ कम्पनी थपिएपछि कृषिबीमाको सेवा विस्तार भएको छ,’ उनले भने, ‘यसका अतिरिक्त बीमा कम्पनीहरूले पनि कृषिबीमाको व्यापक रूपमा प्रचारप्रसार गरेका छन्, त्यसैले पनि कृषिबीमाको व्यवसाय बढाउन सहज भएको छ ।’

तर, माछा, बाख्रा, कुखुराको बीमामा भने जोखिम बढ्दै गएको उनले बताए । ‘आम किसानले आफै बाख्रा र कुखुरा विक्री गर्छन् वा काटेर खान्छन् । तर, कीराले खायो भन्दै दाबी गर्न आउँछन्,’ उनले भने, ‘यस्तै किसानले पोखरीमा अक्सिजनको मात्रा मिलाउन नसक्दा पनि माछाहरू मरिरहेका छन्, फलस्वरूप बीमा कम्पनीहरूले नोक्सानी बेहोर्नु परेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)