ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिस्पर्धाबीच हेलिकोप्टर संख्या  बढाउँदै कम्पनीहरू

२०७६ मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नेपाली हेलिकोप्टर कम्पनीहरूले हेलिकोप्टरहरू थप्न थालेका छन् । सिम्रिक एयरले आगामी माघको दोस्रो हप्तासम्ममा दुईओटा हेलिकोप्टर भित्र्याउँदै छ भने एयर अल्टिच्युडले २०२० भित्र नै हेलिकोप्टर थप्ने योजना अघि सारेको छ । 

त्यसो त, यसै वर्ष कैलाश हेलिकोप्टर, मनाङ एयरले पनि एक/एक हेलिकोप्टर थप किनेका थिए । कैलाश हेलिकोप्टरले ६ महीनाअघि एउटा हेलिकोप्टर थपेको थियो भने मनाङ एयरले १ महीनाअघि हेलिकोप्टर थप गरेको छ । 

सेड्युल फ्लाइट नभई चार्टर फ्लाइटमा मात्रै केन्द्रित हुने हेलिकोप्टर व्यवसायमा अहिले विभिन्न १० ओटा हेलिकोप्टर कम्पनी ३० ओटा हेलिकोप्टरमार्फत प्रतिस्पर्धा गरिरहेका छन् । सिम्रिक एयरका महाप्रबन्धक प्रेम थापाले अहिले ५ ओटा हेलिकोप्टरमार्फत सेवा दिइरहेको भन्दै दुईओटा हेलिकोप्टर थप्ने तयारी गरिएको बताए । उनले भ्रमण वर्ष र रेस्क्युका साथसाथै दुर्गम क्षेत्रमा ढुवानीका लागि सहज होस् भन्ने लक्ष्यका साथ हेलिकोप्टर थप्ने तयारी भएको बताए । 

एयर अल्टिच्युडका अध्यक्ष फुर्वा शेर्पाले कम्पनीले २०२० मा नयाँ हेलिकोप्टर थप्ने जानकारी दिए । सो कम्पनीसँग अहिले २ ओटा हेलिकोप्टर छन् । उनले अहिले हेलिकोप्टर व्यवसायमा प्रतिस्पर्धा तीव्र भएकाले हेलिकोप्टर सञ्चालकहरूसँग सामूहिक रूपमा व्यवसायलाई कसरी अघि बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘यो व्यवसाय निकै जोखिमपूर्ण भएको र अहिले हेलिकोप्टर थप्ने क्रम बढेसँगै प्रतिस्पर्धा पनि बढेको छ । यसलाई थप व्यवस्थित बनाउन सञ्चालकबीच सहकार्य र छलफल अघि बढ्नुपर्छ ।’ 

कैलाश हेलिकोप्टरका महाप्रबन्धक प्रतापजंग पाण्डे भ्रमण वर्षलाई लक्षित गरेर नै आफ्नो कम्पनीले हेलिकोप्टर थप गरेको बताउँछन् । ६ महीनाअघि एउटा हेलिकोप्टर थप गरी ३ ओटा हेलिकोप्टरमार्फत कैलाशले व्यवसाय गरिरहेको छ । 

बुद्ध एयरको पोखरा–विराटनगर सीधा उडान
बुद्ध एयरले पोखरा–विराटनगर सीधा उडान गर्ने भएको छ । पोखरा एयरपोर्टलाई बेस बनाउँदै उक्त कम्पनीले आगामी माघ २० गतेदेखि विराटनगर उडान गर्ने भएको हो । कम्पनीले यस्तो उडान हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रवार गर्ने भएको छ । पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेटमा उडान गर्ने समय तालिका बुधवार सार्वजनिक गरेको छ ।

खर्च बढेपछि डोर्नियर जहाज हटाउँदै यती एयर
यती एयरलाइन्सको सहायक कम्पनी तारा एयरले आफ्ना दुईओटा डोर्नियर डीओ २२८ टर्बाेप्रोप जहाज हटाउँदै छ । दुई प्रकारका जहाज (ट्वीनअटर र डोर्नियर) सञ्चालन गर्दा खर्च बढेको भन्दै कम्पनीले डोर्नियर जहाज विस्थापन गरी ट्वीनअटर ल्याउने तयारी रहेको यती एयरका वरिष्ठ प्रबन्धक भीमराज राईले बताए । उनका अनुसार डोर्नियर जहाजको इन्जिनीयरिङदेखि मर्मत तथा सञ्चालनमा खर्च महँगो छ । विशेषगरी दुर्गम क्षेत्र लक्षित उडान गर्दै आएको तारासँग हाल दुई डोर्नियर र ४ ट्वीनअटर जहाज छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)