ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संशोधन हुँदै सामूहिक लगानी कोष नियमावली

बीमा, सञ्चयकोष र सीआईटीलाई म्युचुअल फन्ड सञ्चालन गर्न दिइने

२०७६ मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) सञ्चालनको दायरा फराकिलो पार्दै नेपाल धितोपत्र बोर्डले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा जीवन बीमा कम्पनीलाई पनि म्युचुअल फन्ड सञ्चालनको अनुमति दिने तयारी गरेको छ । हाल वाणिज्य बैंकहरूलाई मात्र म्युचुअल फन्ड सञ्चालनको अनुमति दिएको धितोपत्र बोर्डले त्यसका लागि सामूहिक लगानी कोष नियमावली, २०६७ को संशोधन गर्दै छ । 

बोर्डले सामूहिक लगानी कोष नियमावली संशोधन गर्न बनाएको मस्यौदामा यी तीन संस्थालाई पनि म्युचुअल फन्ड सञ्चालन गर्न दिने व्यवस्था गरेको हो । बोर्डले मस्यौदा स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पनि पठाइसकेको र स्वीकृति भएपछि यी तीन संस्थालाई म्युचुअल फन्ड सञ्चालनको अनुमति दिने बताएको छ ।

मस्यौदामा जीवन बीमा कम्पनीले सहायक कम्पनी स्थापना गरेर म्युचुअल फन्ड निष्कासन गर्नसक्ने व्यवस्था गरिएको छ । मस्यौदामा त्यस्ता कम्पनीको चुुक्ता पूँजी रू. २० करोड बराबरको हुनुपर्ने व्यवस्था छ । यसका अतिरिक्त बीमा कम्पनीले प्रचलित मापदण्ड अनुसार नै म्युचुअल फन्ड सञ्चालन गर्न मिल्ने बोर्डका प्रवक्ता नीरज गिरीले बताए । 

त्यस्तै, नागरिक लगानी कोष (सीआईटी) र सञ्चय कोषले पनि सहायक कम्पनी स्थापना गरी म्युचुअल फन्ड सञ्चालन गर्न पाउनेछन् । प्रवक्ता गिरीले नेपालको पूँजीबजारलाई थप विस्तार गर्ने योजना अनुरूप यस्तो व्यवस्था गर्न लागेको बताए । ‘पूँजीबजारको थप विस्तार गर्न यस्तो व्यवस्था गर्नुपर्ने देखियो । अन्तरराष्ट्रिय बजारमा पनि यो प्रचलनमा छ,’ उनले भने, ‘अन्तरराष्ट्रिय अभ्यासलाई नै हेरेर नयाँ व्यवस्था गर्न लागेका हौं ।’ भारत, बंगलादेश लगायत मुलुकमा बीमा कम्पनीहरूले म्युचुअल फन्ड सञ्चालन गर्न पाउँछन् । 

त्यस्तै, नयाँ व्यवस्थाले लगानीकर्तालाई लगानीको अवसर जुट्नुका साथै बजारमा तरलता पनि प्रवाह हुने बोर्डको विश्वास छ । ‘अहिले लगानीकर्ताहरूलाई लगानीको अवसर कम छ, इच्छाएको कम्पनीको शेयर किन्न पनि पाउँदैनन्,’ प्रवक्ता गिरीले भने, ‘साथै, अहिले बजारमा तरलताको अभाव भएको देखिन्छ, जसको फलस्वरूप शेयर कारोबार पनि थोरै छ । उक्त व्यवस्था प्रभावकारी भएमा यस्ता समस्याको समाधान हुने अपेक्षा लिएका छौं ।’ 

अबको १ महीनाभित्र नै उक्त नियमावलीको संशोधन भइसक्ने बोर्डको विश्वास छ । ‘संशोधनको मस्यौता अर्थ मन्त्रालयमा पठाएको महीना दिनभन्दा धेरै भइसक्यो । बीचमा प्राविधिक कारणले ढिलाइ भयो,’ प्रवक्ता गिरीले भने, ‘तर, अहिले मन्त्रालयका अधिकारीहरूले छिट्टै स्वीकृति हुन्छ भनेका छन्, सम्भवतः १ महीनाभित्र हामी नयाँ नियमावली लागू गर्छौं ।’

बोर्डले यस विषयमा सरोकारवालाहरूसँग भने औपचारिक छलफल भने गरेको छैन । यद्यपि, सम्बद्ध पक्षहरूले यसप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् । सीईआईटीका कार्यकारी निर्देशक रमण नेपालले ढिलै भए पनि यो व्यवस्था आउनु सकारात्मक भएको बताए ।

‘हामीले वैशाखमा नै सहायक कम्पनी खोलेर म्युचुअल फन्ड सञ्चालन गर्ने तयारी गरेका थियौं । तर, कानूनी आधार नहुँदा त्यो गर्न सकिएन,’ उनले भने, ‘अहिले पनि हामीले शेयरबजारमा लगानी गरिरहेका थियौं । तर, छुट्टै सहायक कम्पनी स्थापना गरेर स्टक डिलरको काम गर्न पाए राम्रो हुने थियो ।’ 

त्यस्तै, युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले पनि उक्त व्यवस्था स्वागतयोग्य हुने बताए । उनले भने, ‘सम्बद्ध नियमावली लागू भई नसकेकाले अहिले केही नभनौं, तर उक्त व्यवस्थाले बीमा बजारलाई राम्रै फाइदा गर्छ ।’

नेपालमा सामूहिक लगानी कोष बजारको लामो इतिहास छैन । नेपालमा २०६४ सालमा मात्र वाणिज्य बैंकले म्युचुअल फन्ड सञ्चालन गर्न पाउने व्यवस्था आएको हो । हाल बैंकहरूले सहायक कम्पनीमार्फत म्युचुअल फन्ड निष्कासन गरेर बैंकको निक्षेप, ऋणपत्र, शेयरबजार लगायत तोकिएको क्षेत्रमा लगानी गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ramram

[Feb 23, 2020 12:21pm]

Kehi mfund le kharab co. Share ma dherai lagani gari loss ma raheko, lamo samaye laganikarta Lai kehi nadiyeko huda ramro niyaman ko jaruri xa. Mf sanchalan garne nikaye Lai jimmewar banauna ramro hunxa.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)