ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रमण वर्ष सफल पार्न विदेशी राजदूतलाई आग्रह 

२०७६ मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० आउन १ महीना बाँकी रहँदा सरकारले नेपालस्थित विदेशी कूटनीतिक नियोग तथा दातृ निकायलाई भ्रमण वर्ष सफल पार्न आग्रह गरेको छ । पर्यटन मन्त्रालयले नेपालस्थित ३१ मुलुकका राजदूत र पाँच दातृ निकायका प्रमुखसँग बुधवार गरेको अन्तरक्रियामा भ्रमण वर्षको सफलताका लागि उनीहरूको सहयोगको अपेक्षा गरेको हो । 

पर्यटन मन्त्रालयमा भएको अन्तरक्रियामा पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को विषयमा आ–आफ्ना मुलुकमा सन्देश प्रवाह गरी ती देशका नागरिकलाई नेपाल पठाउन आग्रह गरे । उनले सरकारको विदेश सम्बन्धमा पर्यटन कूटनीति पनि महत्त्वपूर्ण पाटो भएको बताउँदै सोहीअनुरूप राजदूत र दातृ निकायका प्रमुखलाई मन्त्रालयमै बोलाएर आग्रह गरिएको बताए । २०७२ सालको भूकम्पबाट उठ्न नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्दै भट्टराईले भ्रमण वर्ष सफल पार्न राजदूतहरूको सहयोगको अपेक्षा सरकारले गरेको बताए । 

भ्रमण वर्षको सफल कार्यान्वयनका लागि नेपालस्थित राजदूतहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै भट्टराईले भ्रमण वर्षका बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे । ‘भ्रमण वर्षका बारेमा तपाईंहरूको मुलुकमा धेरैभन्दा धेरै सन्देश प्रवाह गरी त्यहाँका नागरिक नेपाल पठाइदिनका लागि अनुरोध गर्छु,’ उनले भने, ‘मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् ।’

३१ देशका पर्यटन मन्त्रीहरूलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि सरकारले निमन्त्रणा पठाइसकेको जानकारी दिँदै मन्त्री भट्टराईले आआप्mना देशका पर्यटन मन्त्रीहरूलाई उपस्थित गराइदिनका लागि पहल गर्नसमेत अनुरोध गरे । 

भट्टराईले आगामी जनवरी १ तारीखमा दशरथ रंगशालामा भ्रमण वर्षको भव्य उद्घाटन गर्ने तथा जनवरीकै पहिलो साता विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि भ्रमण वर्ष उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । 

उनले सन् २०२० मा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने सरकारको योजना रहेको र सोहीअनुरूप काम भइरहेको बताए । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्न वायुसेवा विमान कम्पनीहरूलाई सरकारले छिट्टै आकर्षक ‘प्याकेज’ घोषणा गर्ने जानकारीसमेत मन्त्री भट्टराईले दिए । 

नेपालको हवाई सुरक्षाको विषयमा यूरोपेली संघले राखेको चासोप्रति गम्भीर रहेको भन्दै उनले अन्तरराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार गम्भीर रहेको बताए ।

कार्यक्रममा सहभागी राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भ्रमण वर्षसँग सम्बद्ध प्रचार सामग्री आफ्नो देशमा पठाएर भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, नेपाल भ्रमण गर्ने पर्यटकमध्ये चिनियाँ दोस्रो रहेको बताउँदै चिनियाँ राजदूत होउ यान्छीले भ्रमण वर्षको सफलताका लागि चीनको राम्रो साथ र सहयोग रहने बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)