ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य बढेपछि व्यवसायी चिन्तित

२०७६ मंसिर, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सुनको कारोबार हुने मुख्य सिजनमै मूल्य पुनः बढ्न थालेपछि सुन व्यवसायीहरू कारोबारमा मन्दी आउने आशंकामा छन् । अहिले तीन महीने (मंसिर, माघ र फागुन) विवाहको सिजन भए पनि सुनको कारोबार मंसिरमा उत्साहनजनक हुनसकेको छैन । त्यसमाथि सुनको मूल्य फेरि उकालो चढ्न लाग्दा व्यवसायीहरू कारोबार थप खुम्चने विषयलाई लिएर चिन्तित भएका छन् ।

मंसिरको दोस्रो सातासम्म सुनको भाउ उच्च भए पनि बढ्ने संकेत देखिएको थिएन । तर, बुधवार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर रू. ७२ हजार २०० पुग्यो । मंगलवार सुनको मूल्य प्रतितोला रू.७१ हजार ४०० थियो । गत शुक्रवार सुनको मूल्य प्रतितोला रू. ७१ हजार ३०० थियो, जसअनुसार यो हप्ता सुनको मूल्य ९ सय रुपैयाँले बढेको देखिन्छ ।

यसरी मूल्य बढ्दा नेपालको सुनचाँदी बजारमा नकारात्मक असर पर्ने व्यवसायीहरू बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले मूल्य बढ्न थालेपछि गरगहनाको माग घट्न थालेको बताए । ‘मंसिर लागेपछि व्यवसाय अलिअलि हुन थालेको थियो । तर, अहिले फेरि मूल्य बढेपछि व्यवसाय घट्ने संकेत देखिएको छ,’ उनले भने, ‘अहिले सुनको कारोबार पर्ख र हेर स्थितिमा छ । मूल्य घट्ने संकेत छैन, तर ग्राहकहरू मूल्य घट्ला र सुन किनौँला भनेर बसेका छन् ।’

मंसिरमा विवाहका लागि एक परिवारले औसतमा १० तोलासम्म सुन किन्ने गर्छन्, तर अहिले औसतमा एक परिवारले ५ तोलासम्म मात्र सुन किन्ने गरेको व्यवसायीहरू बताउँछन् । अति आवश्यक गरगहना मात्रा किन्ने गरेको महासंघका पूर्वअध्यक्ष शाक्यको भनाइ छ । नेपालमा अन्तरराष्ट्रिय बजारअनुसार नै सुनको मूल्य निर्धारण हुने हो । तसर्थ, मूल्य बढ्यो भनेर कतै गुनासो गर्ने ठाउँ पनि छैन । शाक्यले भने, ‘यस्तो अवस्थामा हामीले पनि केही गर्न सक्दैनौं ।’

सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको व्यापारघाटा तथा चीन र अमेरिकाबीचको व्यापार युद्ध हो । यसैका कारण गत असारदेखि नै बढ्न थालेको सुनको मूल्य भदौ १८ गतेसम्म आउँदा प्रतितोला ७३ हजार ५०० पुग्यो, जुन हालसम्मकै सबैभन्दा उच्च हो ।

केही समय अगाडि चीन र अमेरिकाबीच व्यापार वार्ता गर्ने भनेपछि अन्तरराष्ट्रिय अर्थतन्त्रमा सुधार आउन लागेको थियो । दुवै देशले एक अर्काको मुलुकबाट आयात हुने सामानमा अत्तिरिक्त रूपमा लिने गरेको भन्सार शुल्क पनि हटाउने भनेका थिए । तर, अहिले एकाएक पुनः दुई देशबीच विवाद चुलिएको छ । 

चीन र हङकङको आन्तरिक मामिलामा अमेरिका हङकङको पक्षमा उभिएपछि चीन रुष्ट भएको छ । यस्तै, अमेरिकाले पनि सन् २०२० मा हुने चुनावपछि मात्र चीनसँग व्यापार वार्ता गर्ने घोषणा गरेको छ । यसरी पुनः विश्व अर्थतन्त्र तथा शेयर बजारमा ह्रास आउन थालेको छ । त्यसैले गर्दा लगानीकर्ताहरूले लगानी सुरक्षित गर्न फेरि सुन किनेर होल्ड गर्न थालेका छन् । जसको फलस्वरूप अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्न थालेको छ । अब अमेरिका र चीनको व्यापार युद्ध साम्य नभएसम्म सुनको मूल्य नघट्ने व्यवसायीहरू बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)