ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा व्यवसायको विस्तार सुस्त

२०७६ फागुन, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । जीवन बीमाको तुलनामा निर्जीवन बीमाको व्यवसाय विस्तार न्यून देखिएको छ । पछिल्लो समय जीवन बीमाको व्यवसाय भने उत्साहजनक रूपमा बढेको छ । तर, निर्जीवन बीमा व्यवसाय अपेक्षाअनुरूप नबढेको निर्जीवन बीमा कम्पनीका अधिकारीहरू बताउँछन् । 

चालू आर्थिक वर्षको प्रथम ६ महीनामा जीवन बीमाको व्यवसाय ३८ दशमलव ८ प्रतिशत बढेको छ । तर, निर्जीवन बीमाको व्यवसाय भने १७ दशमलव २७ प्रतिशत मात्रै बढेको छ ।

चालू आवको पुससम्म १९ निर्जीवन बीमा कम्पनीहरूले  रू. १४ अर्ब ९ करोड ७८ लाख कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको भन्दा रू. २ अर्ब ७ करोड मात्र बढी हो । गत आवको पुससम्म यी कम्पनीले रू. १२ अर्ब २ करोड बीमाशुल्क संकलन गरेका थिए ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीद्वारा हालै सार्वजनिक चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । तर, नेशनल इन्स्योरेन्सले विगत ६ महीनादेखि नै त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

नेपालमा जीवन बीमा कम्पनीभन्दा निर्जीवन बीमा कम्पनीको संख्या धेरै छ । तर, व्यवसायमा भने निर्जीवन बीमा कम्पनीहरू पछाडि पर्दै गएका छन् । पछिल्लो २ वर्षमा जीवन बीमाको व्यवसाय ह्वात्तै बढेको छ । तर, निर्जीवन बीमा व्यवसाय सोचेअनुरूप अगाडि बढ्न नसकेको कम्पनीका अधिकारीहरू बताउँछन् । जीवन बीमाबजारको तुलनामा निर्जीवन बीमा बजार एकदमै सुस्त गतिमा विस्तार भएको कम्पनीहरूको टिप्पणी छ ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्त पनि निर्जीवन बीमाको व्यवसाय अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको स्वीकार गर्छन् । ‘निर्जीवन बीमाको उद्योग बढ्न सकेको छैन । साथै, बजारको आवश्यकताअनुसार अझै बीमा पोलिसीहरू बनेका छैनन्,’ उनले भने, ‘यस्ता कारणले निर्जीवन बीमाको व्यवसाय बढ्न नसकेको हो । तर, तेस्रो पक्ष, कृषि तथा स्वास्थ्य बीमासम्बन्धी बीमा नीति आइसकेकाले अब व्यवसाय बढ्ने आश छ ।’ 

युनाइटेड इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई पनि निर्जीवन बीमासम्बन्धी प्रचारप्रसार आवश्यक मात्रामा हुन नसक्दा यसको व्यवसाय बढ्न नसकेको बताउँछन् । साथै, निर्जीवन बीमा सम्बन्धी जनचेतना पनि नबढेको उनको भनाइ छ । 

‘भूकम्प, बाढी आउँदा मानिसहरूलाई बीमा गर्नुपर्ने रहेछ भन्ने लाग्छ । तर, अवस्था सामान्य भएपछि बिर्सिन्छन् । साथै, बीमा हाम्रै लागि हो भनेर पनि उनीहरूले बुझेका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा बीमा कम्पनीहरूले चाहेर मात्र व्यवसाय बढ्दैन । सम्बद्ध निकायले पनि सहजीकरण गर्न आवश्यक छ ।’

बीमा समितिका अधिकारीहरू पनि निर्जीवन बीमाको व्यवसाय सोचेअनुरूप विस्तार नभएको स्वीकार्छन् । ‘निर्जीवन बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा पनि छ । साथै, यो  आफैमा एक जटिल व्यवसाय हो,’ एक अधिकारीले भने, ‘त्यसैले गर्दा निर्जीवन बीमा व्यवसायको विस्तार सुस्त देखिएको हो । यद्यपि, निर्जीवन बीमाको व्यवसाय विस्तार गर्न विषयमा समिति सकारात्मक छ ।’

तथ्यांकअनुसार बीमाशुल्क संकलन गर्ने मामिलामा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले रू. १ अर्ब ७६ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथाले रू. १ अर्ब २३ करोड र तेस्रो स्थानमा रहेको नेकोले रू. १ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ । साथै, सिद्धार्थ इन्स्यारेन्सले रू. १ अर्ब ७ करोड बीमाशुल्क संकलन गरेको छ । यसबाहेकका कम्पनीहरूले १ अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

नयाँ कम्पनी 
२०७५ असारदेखि सञ्चालनमा आएका सानिमा जनरल, अजोड र जनरल इन्स्योरेन्समध्ये अजोड बलियो देखिएको छ । उक्त कम्पनीले रू. ४० करोड ६५ लाख बीमाशुल्क संकलन गरेको छ । समग्रमा नयाँ कम्पनीहरूले ८७ करोड ५७ लाख बीमाशुल्क संकलन गरेका छन् ।

करीब २ अर्ब नाफा
यस अवधिमा १९ कम्पनीले कुल रू. १ अर्ब ९३ करोड खुद नाफा कमाएका छन्, जुन गत आवको भन्दा ३४ प्रतिशत बढी हो । गत आवमा यी कम्पनीहरूले रू. १ अर्ब ४४ करोड खुद नाफा कमाएका थिए । तथ्यांकअनुसार सबैभन्दा बढी नाफा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले कमाएको छ । उक्त कम्पनीले रू. ३१ करोड ४४ लाख नाफा कमाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)