पर्वत । पर्वतको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँसभाबाट पारित गरेका विकास योजना कार्यान्वयन तीव्र बनाएको छ । सडक, सिँचाइ, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधारतर्फका योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो । उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने योजनाको समिति गठन र सम्झौता गरी धमाधम कार्यान्वयन शुरू गरिएको गाउँपालिकाले बताएको छ ।
गाउँसभाबाट विनियोजन भएका २३६ योजनामध्ये माघको तेस्रो सातासम्म १५७ योजनाको उपभोक्ता समिति गठन भई सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनका अनुसार ४९ ओटा योजना सम्पन्न भएका र १०८ ओटा कार्यान्वनयको चरणमा छन् । गाउँपालिका योजना शाखाका अनुसार चालू आवमा रू. ५० लाखभन्दा माथिका २ ओटा, रू. १० लाखदेखि ५० लाखसम्मका १५ ओटा योजना विनियोजन भएका थिए ।
त्यसमा ११ ओटा योजना सम्झौता भई १० ओटा कार्यान्वयनको चरणमा छन् भने एउटा सम्पन्न भइसकेको छ । यस्तै, रू. ५ लाखदेखि १० लाखसम्मका ३० ओटा योजना विनियोजन भएकामा २३ ओटा योजनाको सम्झौता भएको र १९ ओटा कार्यान्वयनको चरणमा रहेको अधिकृत शर्माले जानकारी दिए । रू. ५ लाखभन्दा मुनिका १८९ योजना विनियोजन गरेको गाउँपालिकाले १२१ योजनाको सम्झौत गरी ७७ योजना कार्यान्वयन शुरू भएको र ४४ ओटा योजना सम्पन्न भएका छन् ।
वडाबाट सिफारिश भई गाउँपालिकाबाट विनियोजन भएका विकास योजनाको कार्यान्वयनमा उपभोक्ता समितिहरू जुटेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए । असारे विकासलाई नियन्त्रण गर्ने गरी योजना कार्यान्वयनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उनले उनको भनाइ छ । गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजना तथा कार्यक्रमका लागि पूँजीगत शीर्षकमा विनियोजन भएको रू. १४ करोड ६७ लाख ७५ हजारमध्ये अहिलेसम्ममा करीब ४ करोड रुपैयाँ खर्च भएको गाउँपालिकाले बताएको छ ।