ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेमा नयाँ कीर्तिमान

कारोबार रकम ३ अर्ब ६० करोड नाघ्यो

२०७६ फागुन, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी author avatar सौरभ देवकोटा

काठमाडौं । नेपालको धितोपत्र बजारमा आइतवार हालसम्मकै सबैभन्दा बढी रकमको शेयर किनबेच भएको छ । यस दिन रू. ३ अर्ब ६० करोडभन्दा बढीको कारोबार भई सर्वाधिक रकम कारोबार भएको कीर्तिमान कायम भएको छ ।  अघिल्लो कारोबारको दिन अर्थात् गत बिहीवार रू. २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भएको थियो । त्यस्तै आइतवार ६९ दशमलव ५६ अंकले बढ्दा नेप्सेले १ हजार ५०४ विन्दु कायम गरेको छ जुन २६ महीना यताकै उच्च विन्दु हो । 

यस अघि २०७४ पुस ३ मा नेप्से परिसूचक १ हजार ५०८ दशमलव २५ विन्दुमा रहेको थियो भने उच्च अंकको वृद्धि २०७३ साल साउन २५ गते भएको थियो । त्यस दिन ८४ दशमलव ५१ अंकले नेप्से परिसूचक बढेको थियो । 

बजारमा शेयर खरीदकर्ता बढेसँग आपूर्तिभन्दा माग बढे पछि नेप्सेमा उच्च वृद्धि भएको हो । बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेका कारण कारोबार रकम र नेप्से पनि उच्च वृद्धि भएको विश्लेषकहरूको भनाइ छ । बजार केही दिनयता निरन्तर बढ्दो क्रममा रहेकाले बुलिशको बाटोमा अगाडि बढेको देखिन्छ । 

शेयर विश्लेषक दिलीप मुनकर्मी बजार लामो समय बियरिस प्रवृत्तिमा रहेकाले अहिले लय समाउन थालेको बताउँछन् । उनका अनुसार लगानीकर्ता बजारप्रति त्रस्त मानसिकताबाट मुक्त हुँदै आशावादी हुन थालेका छन् । पूँजीगत लाभकर, तरलताको समस्या, नीतिगत सुधार, लागत आदि सबै पक्षलाई पन्छाएर अहिले लगानीकर्ता भोकाएको सिंह जसरी बजारबाट शेयर उठाउन लागिपरेको उनको बुझाइ छ । 

लगानीकताको मनोबल बढ्नुमा अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको चर्चालाई पनि प्रमुख कारण मानिएको छ । राष्ट्रिय सभा सदस्यका रूपमा खतिवडाको अवधि सकिन मात्र ९ दिन बाँकी छ । सत्तारूढ नेकपाले खतिवडालाई पुनः राष्ट्रिय सभामा लैजाने बारेमा निर्णय गरिसकेको छैन । 

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको सुधारका वाचा, बैंकहरूको घट्दो आधार ब्याजदर पनि यसको कारण मानिएको छ । तर, मुनकर्मीको विचारचाहिँ यी सबै काकताली मात्र परेको हो । दीर्घकालीन लगानीकर्ताले भने जुनसुकै अवस्थामा पनि लागत, प्रतिफल, रणनीति र जोखिम वहन क्षमतालाई ध्यान दिनुपर्ने विश्लेषक मुनकर्मीको सुझाव छ ।

नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी बजार बढेसँगै लगानीकर्ताको मनोबल बढ्नु स्वाभाविक रहेको बताउँछिन् । ‘बजार घट्दा मार्जिन कलको त्रासमा रहेका लगानीकर्ताले बजार बढेसँगै थप कर्जाको अवसर पाएका छन्,’ उनी भन्छिन्, ‘बैंक तथा वित्तीय संस्थाबाट यतिबेला सहज तरिकाले शेयर कर्जा पाएका छौं ।’

अधिकांश सूचीकृत कम्पनीहरूले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस्तो अवस्थामा कम्पनीहरूको वास्तविक आधारभूत सूचक हेरेर पनि लगानीकर्ताले लगानी बढाएका छन् । बजारमा नयाँ लगानीकर्ताको प्रवेशले पनि कारोबार रकम बढाउन सहयोग पुगेको चौधरीको भनाइ छ ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने बजार किन बढ्यो भनेर नसोध्न अनुरोध गरेका छन् । फेसबुकमा उनले ‘सबै कुरा राम्रा हुँदाहुँदै हिजोका दिनमा बजार घटिरहनुपर्ने कारण पनि थिएन,’ भनेका छन् । 

आइतवार १७८ कम्पनीहरूको ३० हजार ४५६ पटकको व्यापारमा ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर किनबेच भएको छ । यस दिन एनएमबी बैंकको सर्वाधिक कारोबार भएको छ । यस बैंकको रू. १२ करोड ५६ लाख २१ बराबरको कारोबार भएको हो । नेप्से इन्डेक्ससँगै यस दिन सेन्सेटिभ इन्डेक्स १७ दशमलव शून्य ७ अंकले बढेर १३७ दशमलव ५० विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ समूहकै परिसूचक बढेको छ । यो दिन सबैभन्दा बढी व्यापार समूहको ८ दशमलव २५ प्रतिशत र बैंकिङ समूहको ७ दशमलव १५ प्रतिशतले परिसूचक बढेको हो ।

आइतवार सबैभन्दा बढी कमाउनेमा फस्ट माइक्रोफाइनान्स लघुवित्तका शेयरधनीहरू रहेका छन् । फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेको हो । सबैभन्दा बढी गुमाउनेमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ता रहेका छन् । यस होटललको मूल्य रू. १९ ले घटेको छ । 

आइतवारको कारोबारमा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण रहँदा समग्र परिसूचकमा उच्च अंकको वृद्धि भएको देखिन्छ । यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ८ दशमलव २५ प्रतिशत बढेको छ भने बैंकिङ समूहको परिसूचक ७ दशमलव १५ प्रतिशत बढेको छ । यस्तै, विकास बैंकको ४ दशमलव ५० प्रतिशत बढेको छ भने जलविद्युत्, वित्त, र ‘अन्य’ समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । 

यस्तै बढेर बन्द हुनेमा लघुवित्त, जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तारागाउँ रिजेन्सी र ओरियन्टल होटलको शेयरमूल्य घटेर कारोबार हुँदा होटल समूहको परिसूचक शून्य दशमलव ६ प्रतिशतमात्र बढेर बन्द भएको छ । 

आइतवार कारोबार रकममा नयाँ रेकर्ड    
उच्च अंकले बढेर बन्द भएको बजारमा कारोबार अवधिभर रू. ३ अर्ब ६० करोड ८५ लाख बराबरको शेयर किनबेच भएको छ । जुन एक दिनको कारोबारमा हालसम्मकै उच्च हो । बिहीवारका तुलनामा यस दिन कारोबार २९ दशमलव ५७ प्रतिशत बढी हो । बिहीवार रू. २ अर्ब ७८ करोड बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ५८ अंक बढेर २८५ दशमलव ८२ विन्दुमा पुगेर बन्द भएको छ । 

९ कम्पनीको शेयरमूल्यमा सर्किट
आइतवार उच्च अंकले बढेर बन्द भएको बजारमा ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेर सकारात्मक सर्किट लागेको छ । जसमध्ये फस्र्ट माइक्रोफाइनान्स, एनएमबि बैंक, स्वदेशी लघुवित्त, कालिका माइक्रोक्रेडिट, मेगा बैंक, आरएसडीसी लघुवित्त, एभरेस्ट बैंकको प्रिफेरेन्स शेयर, एसबीआई बैंक र आइसीएफसी फाइनान्स रहेका छन् । यसका साथै साल्ट ट्रेडिङ कर्पोरेशन, रिलायन्स फाइनान्स र सानिमा बैंक शेयरमूल्य ९ प्रतिशत भन्दा बढी बढेका छन् । शेयरमूल्य घटेर कारोबार हुनेमा भने तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ५ दशमलव ६८ प्रतिशत घटेको छ । कम्पनीको अन्तिम शेयरमूल्य रू. ३१५ मा सीमित छ । यस्तै, वरुण हाइड्रोपावरको शेयरमूल्यमा ५ दशमलव शून्य ५ ले कमी हुँदा कम्पनीको अन्तिम शेयरमूल्य रू. ९४ कायम रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)